आइपीएल:दिल्ली क्यापिटल्सविरुद्ध बेंग्लुरुलाई ४७ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेन्जर्स बेंग्लुरु विजयी भएको छ । आइतबार राति भएको खेलमा बेंग्लुरुले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गर्दै प्लेअफ होडमा आफूलाई कायमै राखेको हो ।आइपीएलको यो सिजनमा सुरुआत खास नरहे पनि पछिल्लो समय लगातार पाँच खेलमा जित निकाल्दै बेंग्लुरु प्लेअफ होडको सम्भावनालाई जीवितै राखेको छ । पहिले खेल्दै बेंग्लुरुले २० ओभरमा ९ विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा दिल्ली १९.१ ओभरमा १४० रन बनाएर अलआउट भएको छ ।

१३ खेलमा डिसीको यो सातौं हार थियो र यसको प्लेअफको आशालाई ठूलो धक्का लागेको छ । तर, टोली अझै शीर्ष ४ को दौडबाट बाहिरिएको छैन।टस हारेर पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बेंग्लुरुले राम्रो सुरुवात गर्न सकेन । कप्तान फाफ डु प्लेसिसले ७ बलमा ६ रन बनाएर तेस्रो ओभरमा नै मुकेश कुमारको शिकार बने ।

उनका ओपनिङ पार्टनर विराट कोहलीले आक्रामक मनोवृत्ति देखाए र आफ्नो २५० औं खेलमा तीब्र रन बनाउने प्रयास गर्दा चौथो ओभरमा टिमको ३६ रनको स्कोरमा आउट भए । कोहलीले १३ बलमा एक चौका र तीन छक्का सहित २७ रन बनाए ।
रजत पाटीदार र विल ज्याक मिलेर स्कोरलाई १०० भन्दा माथि पुर्याए । तेस्रो विकेटका लागि ८८ रन जोडे । पाटीदारले १३ औं ओभरमा आउट हुनुअघि २९ बलमा अर्धशतक र ३२ बलमा ५२ रन बनाएका थिए ।

ज्याक पनि २९ बलमा ४१ रन बनाएर १५ औं ओभरमा पभेलियन फर्किए । योसँगै बेंग्लुरुले १७ औं ओभरमा १५० रन पुरा गरेको थियो ।क्यामरन ग्रीन र महिपाल लोमररले ३७ रनको साझेदारी गरे पनि १८ औं ओभरमा १७४ रनको स्कोरमा १३ रन बनाएर लोमरोर आउट भए । दिनेश कार्तिक र स्वप्निल सिंहले खाता नै खोल्न सकेनन् । कर्ण शर्माले ६ रनको योगदान दिए भने मोहम्मद सिराजले खाता पनि खोल्न सकेनन् । क्यामरन ग्रीनले २४ बलमा अविजित ३२ रन बनाए । दिल्ली क्यापिटल्सका खलिल अहमद र रसिक सलाम दारले समान २/२ विकेट लिए ।

लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सलाई पहिलो ओभरमा नै झट्का लाग्यो । डेभिड वार्नर १ रन बनाएर आउट भए । तेस्रो ओभरमा अभिषेक पोरेल पनि २ रन बनाएर पभेलियन फर्किए । जेक फ्रेजर–म्याकगर्क सोही ओभरमा रनआउट भए र उनको ८ बलमा २१ रनको इनिङ्सको दुर्भाग्यपूर्ण अन्त्य भयो । विकेटको क्रम यसरी जारी रह्यो र दिल्लीको स्कोर ११ ओभरमा ९०/६ बन्यो । यस क्रममा साई होपले २९ रन बनाए ।

कप्तान अक्षर पटेल र रसिक सलामले स्कोर १०० भन्दा माथि पुर्याए । दुवैले ३७ रन जोडे तर १५ औं ओभरमा १० रन बनाएर रसिख आउट भए । योसँगै अक्षरले उत्कृष्ट अर्धशतक बनाए । तर, उनले आफ्नो इनिङलाई खासै ठूलो बनाउन सकेनन् र ३९ बलमा ५७ रन बनाएर बाहिरिए । अन्तिम ब्याट्सम्यानले खासै योगदान गर्न सकेनन् र दिल्लीको इनिङ्स पाँच बल बाँकी रहँदै समाप्त भयो। रोयल च्यालेन्जर्स बैंगलोरका लागि यश दयालले सर्वाधिक ३ विकेट लिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१