काठमाडौं । केवाईसी अपडेटमा सानीमा बैंकले गरेको लापरवाहीबारे अर्थ समिति बैठकमा पनि कुरा उठेकाे छ । सानीमा बैंककाे लापरबाहीबारे राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकाे ध्यानाकर्षण गराएका हुन् ।
उदयपुरका नारायणबहादुर राईको हराएको नागरिकता प्रयोग गरेर रामेछापका राजन श्रेष्ठले सानीमा बैंकमा खाता खोलि करिब तीन करोड रुपैयाँ दुरुपयोग गरेका थिए । यो केसमा बैंकले खाता खोल्ने व्यक्तिले दिएको डकुमेन्ट प्रमाणीकरण नगरी केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग–अलग हुँदासमेत खाता खोल्न दिएर कारोबार गराएको थियो ।
श्रेष्ठले राईको हराएको नागरिकता प्रयोग गरेर खाता खोलेका थिए तर केवाईसी फर्मममा भने श्रेष्ठकै फोटो प्रयोग भएको थियो । यतिसम्म गर्दा पनि बैंकले खाता खोलिदिएर श्रेष्ठको अपराध कर्ममा सहयोग पुर्याएकाे थियो ।
यसबारे राष्ट्र बैंककाे सुपरिवेक्षण विभागले अध्ययन गरिरहेकाे राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिएका थिए ।
साेही विषयमा सांसद शाहीले साेमबार समिति बैठकमा कुरा उठाएका हुन् । शाहीकाे जवाफमा गभर्नर अधिकारीले गल्ती गर्ने बैंकलाई कारबाहीकाे दायरामा ल्याउने जवाफ दिए ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन) अनुसार बैंकका नियम उल्लंघन गर्नेलाई सचेत गराउनेदेखि इजाजतपत्र निलम्बन वा रद्ध गर्ने सम्मको व्यवस्था छ ।
याे पनि पढ्नुहाेस् ।
आर्थिक अपराधको केन्द्र सानिमा बैंक, अलग–अलग व्यक्तिकाे नागरिकता र फाेटाेबाट पनि खुल्छ खाता !
हराएको नागरिकता प्रयोगगरी करोडौं ठगी, मतियार बन्दै बैंक [भिडियो सहित]