बजेटमा समावेश गर्न राष्ट्र बैंकको ३५ बुँदे सुझाव

काठमाडौं । आगामी बजेटमा समावेश गर्न नेपाल राष्ट्र बैंकले सरकारलाई ३५ बुँदे सुझाव दिएको छ । मौद्रिक तथा वित्तीय क्षेत्र सम्बन्धी २० र सरकारी वित्त क्षेत्रका लागि १५ बुँदाको सुझाव दिएको हो ।प्रतिनिधि सभाको अर्थ समिति बैठकमा सोमबार गर्भनर महाप्रसाद अधिकारीले छलफलका लागि सुझाव पेस गरेका हुन् । छलपलमा उठेका प्रश्नहरुको जबाफ दिँदै उनले वित्तीय क्षेत्र नियमनका लागि राष्ट्र बैंक संवेदनशील रहेको बताए । ‘बैंकिङ क्षेत्रको नाफाको विषयमा कुराहरु उठेको छ ।

बैंकहरुको सुरक्षा र बैंकप्रति जनताको विश्वास छ कि छैन भन्ने कुरामा बैंकहरुप्रति विश्वास रहेन भने हाम्रो अर्थतन्त्र नै भोलि अस्थिर हुन जान्छ,’ उनले भने, ‘त्यो विश्वास कायम गर्नको लागि बैंकहरु सुरक्षित हुनुपर्छ र त्यसको लागि धेरैथोरै भए पनि बैंकहरुलाई नाफा हुनैपर्छ, उनीहरुले निरन्तर कमाउनै पर्छ ।’
वित्तीय क्षेत्रका बारेमा समाजमा गलत सूचना गइरहेको दाबी उनले गरे । ‘जुन खालको गलत सूचना समाजमा गइरहेको छ, बैंकहरुको क्यापिटलको बेस ठूलो भएको हुनाले अलिकति अर्ब कमाउदा पनि धेरै देखिएको हो ।

रिटन हेर्ने हो भने साढे ८ प्रतिशतभन्दा बढी छैन,’ उनले भने, ‘बैंकहरुले आफूखुसी कमाइरहेका छन् भन्ने कुरा होइन । हामीले ४ प्रतिशतभन्दा बढी लिन नपाउने निर्देशन दिएका छौ।’समग्र आर्थिक स्थिरताको लागि बैंकिङ सिस्टम धरासायी हुनु नहुने उनले बताए । ‘त्यो नहुनको लागि बैंकहरु सुरक्षित हुनुपर्छ, जसका लागि उनीहरुको नाफाको बेस एउटा तहमा सधैं हुनुपर्छ,’ उनले भने ।

राष्ट्र बैंकले वित्तीय समावेशिता बढाउन खोजिरहेको उनले बताए । ‘हामी तलसम्म जान खोजिरहेका छौ । माइक्रोफाइनान्समा ६० लाख सदस्यहरु छन्, ३० लाख ऋणीहरु छन् त्यो बनेको त्यतिकै होइन । बैंक, वित्तीय संस्था, राष्ट्र बैंक र नेपाल सरकार सबैको योगदान छ,’ उनले भने, ‘अब ऋण लिइसकेपछि तिर्नलाई गाह्रो मान्ने, तिर्नुपर्दा पीडित हुनु भन्ने खालको भनाइ राखेर तिर्न छोडियो भने भोलि बैंकले ऋण किन दिन्छ ?’ खराब कर्जा बढ्न नदिन वित्तीय क्षेत्र सचेत रहेको उनले बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१