दोस्रो चरणको सीप मेलाको तयारी : एक हजार एकसय ३५ जनाको कोटा निर्धारण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सीप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण भोलि(शुक्रबार) सकिँदैछ । वैशाख १९ गते मेलाको उद्घाटनपछि कक्षाहरु सुरु भएका थिए ।

यस चरणमा १ हजार ५ सय ७७ जनाका लागि तालिमको कोटा थियो । यसमध्ये १ हजार ५ सय ५ जना तालिममा सहभागी भएका थिए ।३० दिन र १५ दिनको तालिम अवधिमध्ये भोलि १५ दिनको अवधि सकिनेछ । आज र भोलि तालिम सम्पन्न भएका प्रशिक्षार्थीहरुको योग्यता परीक्षा र नयाँ प्रशिक्षार्थीका लागि अभिमुखीकरण सञ्चालन भइरहेको छ । अभिमुखीकरण कार्यक्रमअन्तर्गत आज ६४६ जनालाई कार्यक्रममा सहभागी गराइयो ।

दोस्रो चरणको कक्षा ज्येष्ठ ६ गते आइतबारबाट सुरु हुनेछ । यसमा १ हजार १३५ जनाको कोटा छ । यसका लागि १ हजार २६५ जनाको नाम सूचीकरण गरेर फोनमार्फत तालिममा आउन अनुरोध गरिसकिएको रोजगार संयोजक देवेन्द्र केसीले जानकारी दिए ।टुँडिखेलमा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले तालिमबाट सिकेको सीपबाट स्वरोजगार बन्न प्रेरित गरे ।
तालिममा सहभागी हुने प्रशिक्षार्थीको केही सर्त छन् । कार्यक्रममा आयोगका सदस्य झाले भने, ‘९० प्रतिशत हाजिर अनिवार्य छ । तालिम सुरु गरेर कसैले छोड्न नपाउने व्यवस्था छ । तालिम निःशुल्क हो तर कसैले बिचमै छाडेमा तालिम वापतको शुल्क भुक्तानी गर्नुपर्नेछ ।’ तालिमपछि प्रचलित व्यवस्थाबमोजिम रोजगारी वा अन द जब टेनिङ्मा जान राजी हुनुपर्ने, स्वरोजगार भए विवरण महानगरपालिकामा उपलब्ध गराउनुपर्ने बताए ।

सामाजिक विकास समितिका संयोजक केसीले तालिम सञ्चालनको विधि निरीक्षण गरे । यस क्रममा प्रशिक्षक र प्रशिक्षार्थीहरुसँग तालिमप्रतिको दृष्टिकोणका विषयमा प्रतिक्रिया लिएका थिए ।
उनले प्रशिक्षार्थीहरुलाई तपाईँ ‘रोजगार’ मा जो कि ‘स्वरोजगार’ बन्ने भनेर प्रश्न गरेका थिए । यस क्रममा अधिकांश प्रशिक्षार्थीहरुले स्वरोजगार हुन योग्य भएकोले स्वरोजगारमा जाने भन्ने जवाफ दिएका थिए ।
प्रशिक्षार्थी छनोट प्राथमिकता

निःशुल्क सीपमूलक तालिम लिनका लागि ६८ हजार ८ सय ६६ जनाको आवेदन परेको छ । यसमध्ये ४३ हजार ५८ जनाले ‘सीप मेला’बाट तालिम लिनका लागि आवेदन दिएका हुन् । २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्यसहित आवेदन माग गरिएको थियो ।

आयोगका सदस्य झाले भने,‘वैशाख १९ गते अगाडि अनलाइनबाट आवेदन दिने ७ हजार ३८२ जनालाई पहिलो प्राथमिकतामा राखेको छौँ । उद्घाटनका दिन टुँडिखेलमै फाराम भर्ने ४ हजार १८२ जनालाई दोस्रो प्राथमिकतामा राखेका छौँ । यसपछि सिप मेलामा आएर आवेदन दिने १३ हजार ९९४ जनालाई तेस्रो प्राथमिकतामा राखेका छौँ । प्रशिक्षणमा बोलाउँदा यही मापदण्डका आधारमा बोलाएका हौँ ।’
तालिममा समावेश १० क्षेत्र र ३० पेशासँग सम्बन्धित तालिममध्ये अटो इलेक्ट्रिक, इलेक्ट्रिक कार (इभी), डकर्मी, टाइल एण्ड मार्वल फिटिङ्, इलेक्ट्रिसियन, प्लम्बिङ्, रेफ्रिजेरेसन एण्ड एसी टेक्निसियन र आर्ट एण्ड स्कप्चर ३० दिन अवधिका हुन् ।

यस्तै बारिस्ता, फास्ट फुड कुक, बेकरी, बार टेन्डिङ्, वेटर, डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेट वर्किङ्, सीसीटिभी क्यामरा, मोवाइल रिपेयरिङ्, वेल्डिङ्, टेलरिङ्÷डे«स मेकिङ्, फेसन डिजाइनिङ्, नेल आर्ट, मेक अप आर्ट एण्ड आइलेस, आइलेस आर्ट एक्सटेन्सन, हेयर कट एण्ड स्टायल, सैलुन, स्क्रीन प्रिन्टिङ्, ज्योतिष र ज्योतिष पुरोहित १५ दिन अवधिका तालिम हुन् ।
झाका अनुसार हरेक वडाबाट एकसय जनालाई सहभागी गराउन फाराम पठाइएको थियो । यसको विवरण अद्यावधिक भइरहेको उनले बताए । कार्यक्रम शुभारम्भका दिन (वैशाख १९) टुँडिखेलमा आएका सहभागीहरूको ठुलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गरिएपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो ।

एक दिनमा ४ हजार १ सय ८२ जनाले फाराम भरेका थिए । अगाडि ७ हजार ३८२ जनाको आवेदन प्राप्त भइसकेको थियो । वैशाख २० गतेदेखि ३० गतेसम्म दिइएको फाराम भर्ने अवसरमा १४ हजार ३ सय जनाले फाराम भरेका थिए । यस्तै अनलाइनबाट १३ हजार ९९४ जनाको आवेदन परेको थियो ।
यससँगै समय समयमा विभिन्न पेशा (जुत्ता बनाउने, डकर्मी, मालीलगायत) सँग सम्बन्धित तालिमका लागि गरिएको आव्हानका क्रममा ५ हजार ६८९ जनाले आवेदन दिएको महानगरले जनाएको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिनुभएको छ । यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८८५ जनाले आवेदन दिनुभयो । जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिनुभएको थियो । बाँकीले अन्य विभिन्न विषयका आवेदन दिनुभएको थियो,’ झाले भने । आयोगका सदस्य झाका अनुसार हस्पिटालिटी एण्ड म्यानेजमेन्ट क्षेत्रका वारिस्ता, फास्ट फुड कुक, वार टेन्डिङ्, वेकरी पेशामा, व्युटिसियनतर्फ हेयर कट, मेक अप, नेल आर्ट पेशामा यस्तै डिजिटल मार्केटिङ्क पेशामा प्रशिक्षार्थीको धेरै चाप छ । कम चाप भएका पेशाहरुमा मेकानिकल, वेल्डिङ्, पुरोहित, स्क्रीन प्रिन्टिङ् पेशा छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१