प्रधानमन्त्रीसहित २३ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, को धनी को गरिब ? (भिडिओसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत २३ मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक सार्वजनिक भएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रधानमन्त्री र विभिन्न मन्त्रालयका मन्त्रीहरुको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइट मार्फत सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइट मार्फत सार्वजनिक गरिएको सम्पत्ती विवरण अनुसार सबैभन्दा बढी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालको सम्पत्ति छ ।

सार्वजनिक गरेको विवरण अनुसार मन्त्री डीपी अर्यालसँग १५० तोला सुन, १ सय तोला चाँदी र १० तोला हिरा रहेको छ । २०७४ सालअघि सुन ८२ लाख, २० हजारमा खरिद गरेको छ ।

मन्त्री अर्याल र उनकी श्रीमती अम्बिका केसीसँग २ करोड बढी नगद बैंक तथा सहकारीमा जम्मा छन् ।

अर्यालको जनसागर सहकारीमा १ करोड ५० लाख, प्राइम बैंकमा १३ लाख, मेगा बैंकमा १ लाख र राष्ट्रिय वाणिज्य बैंकमा ४ लाख नगद जम्मा रहेको छ। यस्तै उनकी श्रीमती अम्बिका केसीको नाममा जनसागर सहकारीमा १५ लाख, ग्लोबल आइएमई बैंकमा ५० लाख, हिमालयन बैंकमा २० लाख रुपैयाँ नगद रहेको छ । सो सम्पत्ति व्यापारबाट प्राप्त भएको विवरण उनले सार्वजनिक गरेका हुन् । यस्तै विभिन्न १२ ठाउँमा जग्गा रहेको विवरण उनले सार्वजनिक गरेका छन् । काठमाडौं १६ मा अम्बिका केसीको नाममा ३ करोड मूल्य बराबरको घर रहेको छ ।

यस्तै धनी कै क्याटगिरीमा उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ पनि छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उहाँको नाममा जनकपुरमा ४२०० सय वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ । त्यस्तै महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको छ ।

२ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १ दशमलव ५ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । तीबाहेक पत्नी महतोको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनले सार्वजनिक गरेको सम्पत्तिमध्ये अधिकांश श्रीमती जुलीकुमारी महतोको नाममा देखिन्छ ।

यस्तै सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार सबैभन्दा गरिब उपप्रधान तथा परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठ देखिएका छन् ।

मन्त्री श्रेष्ठको गोरखा सिरानचोक ८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ। त्यो पनि २०५८ सालमा पार्टीमा हस्तान्तरण घोषणा गरिएको र प्रक्रियामा रहेको श्रेष्ठले उल्लेख गरेका छन् । सिंहदरबारस्थित रावा बैंकको खातामा तलब सुविधाको १ लाख २२ हजार ९१८ रूपैयाँ मौज्दात छ।

यस्तै, प्रधानमन्त्री पुष्प कमल दाहालल प्रचण्डको सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्ने हो भने उनी पनि गरिब नै देखिएका छन् । प्रधानमन्त्री प्रचण्डको कुल सम्पत्ति भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ । सोही ठाउँमा रहेको थप १ कठ्ठा जमिन रहेको छ । जुन स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा रहेको छ । यो घर र जग्गा पैतृक सम्पत्ति भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ । प्रधानमन्त्रीसँग ५ तोला सुन छ, यो पनि पैतृक भएको विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डको नाममा रहेको एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ ।

विवरणअनुसार प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन । तर या एउटा रोचक कुरा के छ भने प्रधानमन्त्रीको पैतृक सम्पत्ति बढेको छ । २०७३ सालमा प्रधामनन्त्री हुँदा उनले बुझाएको सम्पत्ति विवरणमा एक कठ्ठा पैतृक सम्पत्ति र ३ तोला सुन रहेको उल्लेख थियो । अहिले प्रधामनन्त्री प्रचण्डले थप १४ कठ्ठा जमिन पनि थप सम्पत्तिका रुपमा देखाएका छन् । तर यसलाई पनि पैतृक सम्पत्तिकै रुपमा उल्लेख गरेका छन् ।

२०७३ सालमा ३ तोला मात्रै पैतृक सुन रहेको विवरण बुझाएका प्रचण्डले अहिले ५ तोला सुनलाई पनि पैतृक नै भनेका छन् । सरकारले प्रधानमन्त्री लगायत २३ मन्त्रीहरुको सार्वजनिक गरेको सम्पत्ति विवरको अध्ययन गर्दा सबैको सम्पत्ति श्रीमतीको नाममा रहेको खुलेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१