• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

काठमाडाैं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।

बलात्कार मुद्दामा सफाइ पाएपछि विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो ।

लामिछानेले फेसबुकमा भनेका छन्, ‘दुर्भाग्य! अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’

यसअघि बलात्कारसम्बन्धी मुद्दा लागेपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसपछि अमेरिकाले यसअघिको सबै भिसा रद्द गरेकाले उनले भिसाका लागि नयाँ आवेदन दिनु परेको थियो ।