१६ वर्षपछि पुनः ‘सानो संसार’

काठमाडौं । १६ वर्षअघि निर्माण भएको फिल्म ‘सानो संसार’ नयाँ कथामा दर्शकमाझ आउने भएको छ । अर्जुन कुमारको लगानी रहने फिल्मको शुक्रबार बिहान राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्त गरिएको छ ।

मुहुर्तमा फिल्मकी प्रमुख कलाकार सीतादेवी तिमल्सिनाले मुहुर्त सट, फिल्मका प्रोडक्सन म्यानेजर शंकर पाण्डेले क्ल्याप हिर्काए भने निर्माता अर्जुन कुमारले नरिवल फोडेका थिए ।फिल्ममा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर शिवाकोटीको ‘डेब्यू’ अभिनय रहने छ । यही जेठ २५ गतेबाट फ्लोरमा जाने फिल्म काठमाडौं, धादिङ र नुवाकोटमा खिचिनेछ । फिल्मको रिलिज भने असोज १७ गते हुनेछ ।

अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रालि प्रोडक्सनको व्यानरमा फिल्म बन्न लागेको हो । निर्माता अर्जुनकुमारले १६ वर्ष अगाडी यही नाममा दिवंगत निर्देशक आलोक नेम्वाङले निर्माण गरे पनि पहिलाको फिल्मसँग कुनै सम्बन्ध नरहेको बताए ।फिल्मका निर्देशक सिद्धार्थ पुडासैनीले फिल्मको कथा मनपरेकाले निर्देशनको जिम्मा लिएको बताए ।

सिद्धार्थले यही फिल्मबाट लेखन तथा निर्देशनमा ‘डेब्यु’ गर्दैछन् । उनलाई फिल्मको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् । फिल्मको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१