भारतको राजकोटमा आगलागी हुँदा २७ जनाको मृत्यु

काठमाडौं । भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ ।सो सहरका प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिवार भएको आगलागीबाट मृत्यु हुनेको संख्या २७ पुगेको हो । बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् ।

‘आगलागीमा मृत्यु हुनेहरुको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ । शवको पहिचानका लागि डीएनए परीक्षणको तयारी भइरहेको छ,’ बीबीसीले लेखेको छ । सहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको संख्यामा दमकल परिचालन गरिएको थियो ।

अहिले आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ । गेम जोनमा वेल्डिङको काम भइरहेको र सर्टसर्किटका कारण आगलागी भएको जनाइएको छ । तर आधिकारिकरुपमा भने यसबारे कुनै पुष्टि भइसकेको छैन ।त्यहाँको राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७