छुटेका आठ नेपाली विद्यार्थी बंगलादेश जान पाउने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बंगलादेश सरकारले चिकित्सा शिक्षा अध्ययनका लागि दिने छात्रवृत्तिमा छुटेका आठ नेपाली विद्यार्थी पढ्न जान पाउने भएको बताएकी छन् ।

सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको बैठकमा उनले बाङ्गलादेशमा गएका नेपाली विद्यार्थीहरुको कुरा गर्दै छुटेको विद्यार्थीले पढ्न पाउने जानकारी दिंदै परराष्ट्रमन्त्री, परराष्ट्र निकाय र मन्त्रालयका अधिकारीहरुलाई धन्यवाद दिएकी छन् ।

उनले भनिन्, ‘हामीले जतिजना विद्यार्थीहरुलाई बंगलादेश छनोट गरेर पठाएका थियौ त्यसमध्ये २२ जनामा दुई जनाले वेबसाइटमा गएर अप्लाइ गर्नुपर्ने थियो । त्यो नगर्नु भएको रहेछ, र हाम्रो निरन्तर वार्तामार्फत समस्या समाधान गरेका छौं । परराष्ट्र मन्त्री र परराष्ट्र निकाय र मन्त्रालयका साथीहरुलाई धन्यवाद दिन चाहन्छु । पहिला १२ जना छानिएको थियो, आठ जना जसले अप्लाइ गर्नुभएको थियो । उहाँहरुले पनि पढ्न पाउने भएको छ ।’

बंगलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न जान नेपाल सरकारबाट १९ जना एमबीबीएस र तीन जना बीडीएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेश पठाएको थियो ।

सोमबारकै बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल भएको थियो ।उक्त विषयमा भने सभापति अम्मर बहादुर थापाले विश्वविद्यालय बनाउने कुरा सजिलो नभएको भन्दै यसमा गहन छलफल आवश्यक भएको बताए ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१