मह जोडीलाई पत्र : सानिमा बैंकका अनेक कर्तुत कति सहनु हुन्छ ?

आदरणीय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ज्यू, नमस्कार । अहिले तपाईँहरु चलचित्रको प्रचार–प्रसारको लागि विदेशमा हुनुहुन्छ । मदनकृष्ण दाई तपाईँको सानो अभिव्यक्तिले गर्दा तपाईँहरुको टिम अहिले तनावमा छ भन्ने मलाई लागेको छ । सुन्दै छु अष्ट्रेलियामा भएका नेपालीहरुले तपाईँहरुको कार्यक्रम बहिस्कार गर्दैछन् । तपाईँहरु माफी मागिसक्नु भएकोले तपाईँहरुले कार्यक्रम सफल पारेर फर्कनु हुनेछ भन्ने आशा लिएको छु ।

तपाईँहरुले माफी माग्नुभयो र सोझा–साझा नेपालीले तपाईँहरुलाई माफी दिए होलान् तर मैले माफी दिएको छैन । तपाईँहरुले सोच्नु होला यो नाथे अंगराज को हो ? हामीलाई माफी नदिने र एक जना नाथेले माफी नदिँदैमा हामीलाई के हुन्छ र ? हो दाईहरु म एक जना नाथे नै हो । तपाईँहरुका नजरमा तर मैले उठाएको विषयले सही निकासको बाटो पाइ भोलि छानबिन समिति बनेमा तपाईँहरुले मलाई नाथे सम्झिनु हुनेछैन । त्यो समय अलि पछि आउला । समयको प्रतीक्षा गर्नु नै तपाईँ र मेरो बाध्यता हुनेछ ।

जसरी तपाईँहरुले अहिले माफी माग्नुभयो त्यसरी नै भोलि फेरि आम बचत कर्तासँग माफी माग्नुपर्ने अवस्था आउन सक्छ । यदि त्यस्तो समय आएमा अनि मात्र तपाईँहरुले म नाथेलाई धेरै नै सम्झिनु हुनेछ । कसरी त ? अब म मुख्य विषयमा प्रवेश गर्दैछु ।

तपाईँहरु सानिमा बैंकको स्थापना कालदेखि नै प्रचार–प्रसार दूतमा नियुक्त हुनु भएको छ । यो एउटा नितान्त तपाइँहरुको व्यावसायिक काम हो । किन सानिमा बैंकले तपाईँहरुलाई नै यति लामो समयसम्म दूत बनाई रहेको होला ? पक्कै पनि तपाईँहरुको ख्यातीको (एक किसिमले भन्ने हो तपाईँहरुको दूरुपयोग) कारणले नै यति लामो समयसम्म तपाईँहरु दूत भएर बैंकलाई सहयोग गरिरहनु भएको छ र तपाईँहरुको श्रमको मूल्य बैंकले दिइरहेको छ ।

दाईहरु पैसा नै सबै थोक होइन । जीवनको यति लामो समयसम्म आइपुग्दा तपाईँहरुले यो कुरा बुझिसक्नु भएको छ । यसमा मैले सम्झाइरहनु पर्दैन होला ।

तपाईँहरुले बैंकबाट वार्षिक रुपमा केही करोड पैसा पाउनुहुन्छ होला तर बैंकले भोलिका दिनमा बचत कर्ताहरुको करोड होइन खरब पैसा तलमाथि गरेमा त्यसको थोरै श्रेय तपाईँहरुमा पनि आउनेछ । तपाईँहरुको अनुहार हेरेर नै बचत कर्ताहरुले सानिमा बैंकमा बचत गरिरहेका छन् । मदनकृष्ण र हरिवंशले पत्याएको बैंक भएकोले सानिमा बैंक राम्रो होला भन्ने आम बचतकर्ताको बुझाई रहेकोले नै बचत कर्ताहरुले बैंकमा बचत गरेका छन् । यसकाे अर्थ अरु बैंकमा जनताको विश्वास नभएकोले बचत गर्दैनन् भन्ने होइन । तुलनात्मक रुपमा सानिमामा बचत धेरै हुनसक्छ नभए किन सानिमा बैंकले तपाईँहरुमा करोडौँ पैसा खर्च गरिरहेको छ त ?

मैले विगत लामो समयदेखि विभिन्न बैंकहरुसँग वित्तीय सूचनाहरु माग गर्दै आएको छु । राष्ट्रिय सूचना आयोगको आदेशपछि प्राप्त वित्तीय सूचनाहरुलाई अध्ययन गर्ने क्रममा सानिमा बैंकले करिब २ अर्व रुपैयाँ अपचलन गरेको छ । सो अपचलन गरेको रुपैयाँको जानकारी मैले तपाईँहरुलाई दिएको छु । फोनबाट कुरा गरेर केस के हो ? मैले बुझाउन तपाईँहरुले भनेको ठाउँमा आएर बुझाउन पनि तयार छु भनेर भनेको पनि थिएँ । तर तपाईँहरुले मेरो कुरामा खासै ध्यान दिनु भएको छैन ।

मदनकृष्ण दाई तपाईँसँगको कुराकानीमा सानिमा बैंककै भाषा तपाईँले पनि बोल्नु भएको थियो । ‘बैंकले गल्ती गरेको भए राष्ट्र बैंकले सानिमा बैंकलाई कारवाही गरी हाल्थ्यो नि ।’ हो, दाई सानिमा बैंकले पनि यहि भाषा बोल्ने गरेको छ । हो गल्ती गरेको भए राष्ट्र बैंकले कारवाही गर्नु पर्ने हो ।

तर दाई राष्ट्र बैंका कर्मचारीहरु दूधले धोएका व्यक्ति होइनन् र राष्ट्र बैंकका कर्मचारीहरु नेपाली समाजमा बाँचेका मानिहरु हुन् । म जति गहिराइमा गएर अध्ययन गरेको छु त्यति गहिराइमा गएर अध्ययन गरेको भए पक्कै पनि गल्ती थाहा पाउँथे तर गहिराइमा जाने फूर्सद राष्ट्र बैंकका गभर्नर र कर्मचारीमा छँदै छैन । समय यो अर्थमा पनि निकाल्दैनन् कि भोलि राष्ट्र बैंकको जागिर सकिएपछि समय बिताउने स्थान बैंकहरु हुन् । राष्ट्र बैंकका कर्मचारीका आफन्तहरु बैंकभरी जागिरे छन् नि त्यही भएर समय निकालेर अध्ययन गर्ने चासो र फूर्सद छैन ।

दाई यसले यस्तो हावा कुरा गर्‍याे भन्नु होला । मैले हावा कुरा गरेकै छैन । राष्ट्र बैंकको जागिर पछि बैंकहरुमा जागिर खाएका धेरै व्यक्तिहरुलाई भेटेको छु । नपत्याए तपाईँहरुकै क्षेत्रमा हुनु भएका शिवहरी पौडेलसँग यसकाे बारेमा केही बुझ्न सक्नु हुन्छ ।

मैले तपाईँहरुलाई सानिमा बैंकले २ अर्व रुपैयाँ रकम अपचलन गरेकाे र ३४ करोड अधिकार प्राप्त व्यक्तिकाे सिष्टमबाट पैसा गायब बनाएको समाचार लेखेर त्यसकाे लिंक पनि पठाइदिएको थिएँ तर तपाईँहरुले वास्ता नै गर्नु भएको छैन । केही समयअघिमात्र पनि उदयपुरका नारायण राईकाे केवाईसी अपडेटमा सानिमा बैंकले गरेकाे गम्भीर लापरवाहीकाे समाचार प्रकाशित भएकाे थियाे । यसरी अपराधकाे पक्षपाेषण गरिरहेकाे बैंककाे प्रचार गरिरहँदा तपाईँहरुमा अलिकति हीनताबाेध भएकाे छ कि छैन हाेला !

मेलै जानेको र मेरो अध्ययनले देखाएको विषयलाई तपाईँहरु सामु राखेर बैंकलाई सुध्रिन तपाईँहरुले दबाब दिनुहुनेछ भन्ने अपेक्षा मैले गरेको थिएँ । पैसामा तलमाथि गर्ने बानी बसेकाले भोलि बैंक डुबेमा तपाईँहरुको अनुहार हेरेर बचत गरेका बचत कर्तासँग तपाईँहरु माफी माग्ने कि नमाग्ने ? धन्यवाद ! देशको जय होस् ।

अंगराज भारती
जुम्ला, हाल गोकर्ण, काठमाण्डौं ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१