एफक्युबमा मध्यरातमा दर्शकसँग पल शाहको भेट

काठमाडौं । प्रदर्शनरत फिल्म ‘पुजार सार्की’का नायक पल शाहले मङ्गलबारको मध्यरात फिल्मका दर्शकसँग भेट गरेका छन् ।प्रदर्शनको छैटौं दिन मङ्गलबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमामा साढे १० बजेको अन्तिम शो हेरेर निस्किएका दर्शकसँग फिल्म सकिएपछि मध्यराति १ बजे भेट गरेका हुन् । दर्शक भेट्न पलसँगै निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल र नेपाल वितरक रोहित कट्टेल हल पुगेका थिए ।

दर्शकसँगको भेटमा पलले नेपाली फिल्मले निकै फड्को मारेको भन्दै खुशी व्यक्त गरेका थिए । ‘हामीले नेपाली फिल्मको शो जहिले पनि बढीमा नौ बजेसम्म हेथ्र्यौं । विदेशी डिमान्डेड फिल्महरू अबेर राती पनि चल्ने गरेका थिए । तर, आज भने हामी हाम्रै फिल्म हाउसफूल दर्शकसहित मध्यरात साढे १२ बज सकिएको प्रत्यक्षदर्शी भएका छौं । रातीको शो देख्दा र दर्शकको उत्साह हेर्दा नेपाली फिल्मले निकै फड्को मारेको महसुस भएको छ,’ उनले भने ।

पल गत आइतबार जापानको टोकियोमा भएको ऐतिहासिक शो सम्पन्न गरेर सोमबार साँझ काठमाडौं उत्रिएका थिए । उनले जापान जसै गरी नेपालमा पनि नयाँ रेकर्ड राती सवा दश बजे भएको शो हुनसक्ने सम्भावना व्यक्त गरे ।

निर्देशक राउतले आफूले निर्देशन गरेका सबै फिल्महरूमध्ये ‘पुजार सार्की’ बढी सफल भइसकेको बताए । ‘व्यावसायिक सफलतासँगै समीक्षागत रूपमा पनि मैले निकै उत्कृष्ट प्रतिक्रिया पाइरहेको छु । मेरो एउटै सपना के हो भने मैले बनाउने फिल्म व्यावसायिक र समीक्षागत दुवै रूपमा सफल रहनु हो, जुन काम अत्यन्त कठिन र जोखिमपूर्ण छ । यो जोखिम मैले उठाएको थिएँ, सफल बन्दै छु भन्ने लागेको छ,’ राउत सुनिए ।

गत जेठ १० गते रिलिज भएको ‘पुजार सार्की’मा दर्शकको संख्या उल्लेख्य छ । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, सुभाष गजुरेल, प्रेम सुब्बालगायतको अभिनय छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१