![](https://hulaksanchar.com/wp-content/uploads/2024/06/gaire.jpg)
मैले विद्यालयको कक्षाकोठामा
यता विद्यार्थीलाई
जलवायु परिवर्तनको पाठ पढाइरहेको हुन्छु
झ्यालबाट देखिन्छ दृश्य
एक्लो तलसिंहको घुमाउने घर
फनक्कै फेरो लगाउने गरी
उता पारी भ्याकुरले खनिरहेको मोटर बाटो ।
म अनुदानको शिक्षक,
घोकाइरहन्छु विद्यार्थीलाई प्रकृतिको वरदान
मेसिनले ठुल्ठुला ढुङ्गा गुल्टाएपछि
राहतको श्वास फेर्नुहुन्छ
स्कुलको गणित राहत शिक्षक
किनकी उहाँलाई त्यो दूर एकान्त बस्तीमा
बस चढी जानु छ ।
सोच्छु,
सुन्दरताका लागि मान्छेहरू
वस्त्रदेखि वक्तव्यसम्म सजाउँछन्
तर, यहाँ धेरै प्रश्नहरू अनुत्तरित छन्
-दाँत फुक्लिएको फुस्रो पहाड,
-बन्दुकको नालको निशानामा पर्ने दुर्लभ हाब्रे,
-छोपोमा बरखी बारिरहेको हिमालको उम्किने तिथिमिति ।
एक्कासि विद्यार्थीले सोध्छन्-
हामीलाई डाइनोसरको पाठ कहिले पढाउनु हुन्छ ?
जवाफमा भन्छु- प्रकृतिको अन्तिम परीक्षा आउनु अगाडी ।
उनीहरू बुझ्दैनन् मेरो उत्तर
अनि देखाइदिन्छु,
पेटमै दाँत जोडिएको गँगटोको चित्र,
अगाडीको पाठमा ।
अझै बाँकी छ
हिसाबको अभ्यासमा,
मुख र पेटबीचको दूरीको प्रश्न
जसमा जोडिन्छन्,
कक्षाकोठादेखि कर्तव्यसम्मका
अर्थपूर्ण अस्तित्वको जिज्ञासा ।
यहाँ बुद्धको प्रश्नमा विद्यालय उत्तर खोजिरहेछन् ।
-श्याम गैरे
रिसर्चर, डा. कोईराला रिसर्च इन्स्टिच्युट फर बायोटेक्नोलोजी एण्ड बायोडाइभर्सिटी