घर जलेको निहुँमा निम्स दाईमाथि मेनपावर ब्यवसायी टंकको अस्वभाविक मागदाबी, ब्ल्याकमेलको शैली !

काठमाडौं । ०८९ साल असोज ५ गतेको साँझ काठमाडौंको कपन (बुढानीलकण्ठ नगरपालिका वडा नं ११) मा भयानक आगलागी भयो । आगलागीबाट एउटा साढे २ तलाको घर पूर्णरुपमा क्षति भयो । घर थियो ताप्लेजुङ स्थायी घर भएका टंक घिसिङको । उक्त घरको भुइँतलाबाट सुरु भएको आगलागीले घरमामात्र क्षति भएन तीन जनाको ज्यानैसमेत गयो । आगलागी भएको घरको भुइँतला ‘एलाइट हिमालयन एड्भेन्चर कम्पनी’ले भाडामा लिएको थियो । कम्पनीका सञ्चालक हुन्, कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) ।

उक्त आगलागीमा यही कम्पनीका तीन कर्मचारी संखुवासभाका अशोक राई, ताप्लेजुङका कासाङ शेर्पा र सोलुखुम्बुका छेवाङ शेर्पाले ज्यान गुमाए । घरधनी घिसिङले आफ्नो बासस्थान गुमाए । एलाइट हिमालयन एड्भेन्चर कम्पनीको कार्यालय सेलायो । तर डेढ वर्ष बितिसक्दा पनि घरबेटी र कम्पनीको विवाद भने सेलाएको छैन । दिनप्रतिदिन यो विवाद बढीरहेको छ ।

पूर्जाको कम्पनीले क्षतिपूर्ति नदिएको भनेर घिसिङ यतिबेला अदालतको ढोका ढकढक्याइरहेका छन् । उनले पूर्जाको कम्पनीसँग ५ करोड ८० लाख क्षतिपूर्ति माग गरेका छन् । तर यो उनको माग जायज नभएको एलाइट हिमालयन एड्भेन्चर कम्पनीको प्रतिनिधि गोविन्द बरुवाल बताउँछन् । यही विषयमा सुरुदेखि विवाद भएपछि यो केस अहिलेसम्म पनि नसुल्झिएको हो ।

यही कुरा विवादित बनाएर घिसिङ परिवारले निर्मल पूर्जाको बेइज्जत गरिरहेको आरोप एलाइट हिमालयन एड्भेन्चर कम्पनीका प्रतिनिधिहरुको छ । सामाजिक सञ्जालदेखि विभिन्न कार्यक्रममा नै गएर निर्मल पूर्जाको विरोध घिसिङ परिवारले गरिरहेकै छन् । केही दिनअघिमात्र काठमाडौंको एक होटलमा भएको कार्यक्रममै पुगेर घिसिङ परिवारले पूर्जामाथि अनेक आक्षेप लगाएर दुःख दिएको गुनासो पूर्जाले गरे ।

यस्तो छ विवादको चुरो कुरो

घरबेटी टंक घिसिङ र निर्मल पूर्जाको विवादको मुख्य कुरा भनेको नै क्षतिपूर्ति रकम हो । घरेबेटी घिसिङले सुरुवाती दिनदेखि नै उक्त घरको क्षतिपूर्ति ५ करोड ८० लाख माग गरेका थिए । उनको साढे २ तला घरको क्षतिपूर्ति रकम माग धेरै नै भएपछि उनको यो प्रस्ताव निर्मल पूर्जाले अस्वीकार गरे । पूर्जाले उक्त स्थानमा घर बनाइदिने प्रस्ताव घिसिङसमक्ष लिएर गए तर पूर्जाको प्रस्ताव घिसिङले अस्वीकार गरे । उनले क्षतिपूर्ति बापत ५ करोड ८० लाख नै चाहिने भनेर अड्डी कसे । जुन रकम पूर्जाले दिन सकेनन् र विवाद चर्किन थाल्यो ।

घिसिङ वैदेशिक रोजगारसम्बन्धी कम्पनी ‘डायमन्ड ओभरसीज सर्भिसेज प्रालि’ का सञ्चालक हुन् । घिसिङले त्यही घर धितो राखेर २ वर्ष अघिमात्र यही कम्पनी सञ्चालन गर्न भनेर ८० लाख रुपैयाँ कर्जा लिएका थिए । उक्त ऋण लिँदा बैंकले नै १ करोड १० लाख रुपैयाँ बराबरको बीमा गरिदिएको थियो । त्यही बीमाको २० लाख रुपैयाँ घिसिङले लिइसकेका छन् । बाँकी बीमाको रकम भुक्तानी पनि प्रक्रियामै रहेको बताइएको छ तर उनले एलाइट हिमालयन एड्भेन्चर कम्पनीका प्रतिनिधिलाई आफूले उक्त बीमा रकम लिएकोबारे नबताएको र एकोहोरो रुपमा निर्मल पूर्जाको नाम बदनाम गर्न अनेक लान्छना लगाइरहेको गुनासो कम्पनीका प्रतिनिधि बरुवाल गर्छन् ।

बरुवालका अनुसार घरबेटी घिसिङले निर्मल पूर्जा देश विदेशमा चर्चित भएको र उनीसँग टन्न पैसा छ ‘मैले भनेजति दिन सक्छन्’ भन्ने उद्धेश्य राखेर नै बार्गेनिङ गरिरहेका छन् । उनले केही समयअघि एलाइट हिमालयन एड्भेन्चर कम्पनीले घर बनाइदिने प्रस्ताव गर्दा पनि घरसहित एक करोड रुपैयाँ आफूले पाउनुपर्ने माग राखे । बरुवाल भन्छन् ‘घरबेटी घिसिङ उद्धेश्य जसरी पनि पैसा लिने भन्ने देखिन्छ ।’ उनले जसरी पनि पैसा चाहिने अड्डी कसेका कारण यो विवाद सुल्झिनेभन्दा पनि बल्झिरहेको छ । घिसिङ पैसा नपाएकै कारण पूर्जाको बदनामीमा उत्रेको बरुवालको बुझाइ छ ।

२०७६ मंसीर १ गते उनीहरुले घरबहाल सम्झौता गरेका थिए । जसमा भाडामा बसुन्जेल कम्पनीका तर्फबाट कुनै क्षति भए त्यसको भर्पाइ कम्पनीले नै गरिदिनुपर्ने उल्लेख छ । तर देवानी संहिता अनुसार कुनैपनि क्षतिमा दोहोरो भर्पाइ नहुने कानुनविद्हरुको तर्क छ । बीमाको रकम लिइसके पछि भने फेरि पनि क्षतिपूर्तिको रकम मागिरहनु अनुचित हुन्छ ।

सामाजिक सञ्जालबाट बदनाम गर्ने प्रयास

घिसिङ परिवारले सामाजिक सञ्जालबाट निर्मल पूर्जाको बदनाम गरिरहेका छन् । उनीहरुले समाजिक सञ्जालमा पूर्जाको तस्बिर सेयर गरेर अनेक आरोप र लान्छना लगाएर खेदेको खेद्यै गरेको पूर्जाको गुनासो छ ।

सामाजिक सञ्जालको विवाद वडा कार्यालय र बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिसम्म पनि पुगेको थियो । वडाकै रोहबरमा अब घिसिङ परिवारले योबारेमा निर्मल पूर्जालाई जोडेर सामाजिक सञ्जालमा अनेकथरी कुराहरु नलेख्ने भनेर सम्झौता पनि भएको थियो तर घिसिङ परिवारले अहिले पनि पूर्जाका बारेमा अनेक आरोप र घृणा फैलाउने अभिव्यक्तिहरु दिइरहेकै छन् । ‘नियोजित रुपमा नै निर्मल पूर्जाको बारेमा घृणा फैलाउन घिसिङ परिवार लागिरहेका छन् । बास्तविक पीडित त पूर्जा हुन्’ बरुवाल भन्छन् ।

घरबेटीको आरोपमा छैन सत्यता

आगलागीको कारण खाना पकाउने ग्यासको सिलिन्डरबाट भएको भनिए पनि घरबेटी घिसिङको परिवार भने निर्मल पूर्जाले त्यहाँ अरु नै विस्फोटक पदार्थ राखेको आरोप लगाउँछन् । तर यसबारे पुष्टी हुने केही तथ्य भने अहिलेसम्म फेला परेका छैन ।

आगलागी भएको दिन घिसिङ परिवार भने सामान किन्न बौद्ध गएको र घर नजिक पुगेपछिमात्र उनीहरूले आफ्नो घर जलेको थाहा पाएको बताउने गरेका छन् ।

त्यस साँझ आगलागीपछि भएको विस्फोटबाट दुई तलाको एकातर्फको पर्खाल भत्किएको थियो भने आसपासका अन्य घरहरूका पर्खाल र ढोका चर्किएका थिए ।

विस्फोटमा करिब–करिब २० वटा अक्सिजन ग्यासको सिलिन्डर परेको देखिन्छ । ट्रेकिङका लागि प्रयोग हुने अक्सिजन सिलिन्डर पड्किएको भनिए पनि बम पड्केको जस्तो आवाज पटक–पटक आएको स्थानीयबासीले भनेको दाबी घिसिङको छ । तर त्यत्रो आवाज आउने गरी पड्किएको अक्सिजन सिलिन्डरबाहेक अन्य ज्वलनशील पदार्थहरु हो भन्ने आधार हालसम्म केही फेला परेको छैन । जबरजस्ती निर्मल पूर्जाको इमेज डाउन गर्नका लागि तथ्यहीन आरोप लगाएको एलाइट कम्पनीका अर्का सञ्चालक मिङ्मा डेविड शेर्पा बताउँछन् ।

घरबेटी टंक घिसिङले जसरी पनि पैसा नै चाहिन्छ भनेका कारण नै यो विवाद आएको एलाइट कम्पनीका प्रतिनिधिहरु बताउँछन् । पूर्जाले आगलागीको घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई अहिलेसम्म पनि मासिक रुपमा नै तलब उपलब्ध गराइरहेको बताउँछन् । यति गर्दागर्दै पनि मृतकका परिवारलाई अनेक कुरा गरेर घरबेटी घिसिङले उचालेर आफ्नाे विराेध गराइरहेकाे आराेप पूर्जाकाे छ ।

घरबेटी टंक घिसिङलाई पनि उनले आगलागी भएपछि आफैँले भेटेर ‘डन्ट वरी ब्रदर भनेको र अब बिस्तारै सबै मिलाउँदै जाने’ भनेको स्वयम् टंक घिसिङ बताउँछन् । तर पछि आफूले क्षतिपूर्ति दिन नसक्ने बताएको उनको आरोप छ त्यही कारण उनी अहिले अदालतसम्म पुगेका छन् । तर निर्मल पूर्जा ‘आफूहरुले क्षतिपूर्ति दिन सक्दिनँ’ भनेको घिसिङको आरोप अस्वीकार गर्छन् । उनका अनुसार घिसिङले आफ्नो घरको मोटो रकम मागेपछि आफूले घर बनाइदिने भनेको तर उनी त्यो कुरा नमानेर जसरी हुन्छ ५ करोड ८० लाख उठाउनका लागि यो सबै गरिरहेको दाबी उनकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१