• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

 नेपाल यूएईसँग ४ गोल अन्तरले पराजित

काठमाडौं । फिफा विश्वकप तथा एएफसी एशियन कप संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग पराजित भएको छ ।

साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा बिहीबार राति भएको खेलमा नेपाल ४/० गोल अन्तरले पराजित भएको हो । पहिलो चरणको खेलमा पनि नेपाल युएईसँग ४/० गोल अन्तरले नै पराजित भएको थियो । जितसँगै समूह एचको शीर्ष स्थानमा रहेको युएईले पाँच खेलबाट शतप्रतिशत जितसहित १५ अंक जोडेको छ ।

बहराइन १० अंकसहित दोस्रो, यमन तेस्रो र नेपाल अन्तिमा रहेको छ । यमनको चार अंक छ भने नेपाल अंकविहीन अवस्थामा रहेको छ ।यूएईको जितमा अब्दुल्ला सुहेलले दुई अली सालेह र हाजेम मोहम्मद अबुल्लाह अब्बासले समान एक एक गोल गरे । पहिलो हाफमा २/० ले पछि परेको नेपालले दोस्रो हाफमा पनि समान दुई गोल ब्यहोरेको हो । नेपालले पहिलो गोल खेलको १२औं मिनेटमा गोल खाएको थियो ।

हरिब अब्दुल्ला सुहेलले खेलको १२ र १४औं मिनेटमा गोल गरेका थिए ।त्यसपछि नेपालले ५३औं मिनेटमा गोल ब्यहोरेको थियो । अलीले गोल गर्दै यूएईका लागि ३/० को अग्रता दिलाए । ७५औं मिनेटमा हाजेमले गोल गरेपछि यूएईले खेलमा ४/० को जित हासिल गर्यो । अब नेपालले यमनसँग विश्वकप छनोटको खेल खेल्न बाँकी छ ।