
काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाई’माथि प्रतिबन्ध लगाउने नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँको अभिव्यक्ति प्रतिशोधपूर्ण भएको आरोप अनेरास्ववियुका प्रवक्ताले लगाएका छन् ।
अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले सामाजिक सञ्जालमार्फत सांसद बजगाईँले आफूले खोलेको होटलमा ग्राहक सहयोग नगरेको आधारमा पूर्जालाई खेद्ने दुस्साहस गरेको उल्लेख गरेका हुन् ।
उनले बजगाईँसँग सदनमा बोल्ने कुनै कुरा नभएकाले यही विषय पटक–पटक उठाइरहेको हो ? भनेर प्रश्न पनि गरेका छन् । गत जेठ २२ गते प्रतिनिधिसभामा बजगाईंले व्यावसायिक पर्वतारोही तथा पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टामाथि यौन दुव्र्यवहारदेखि सगरमाथा चढ्ने डोरी काटेको भनेर अफवाह फैलाएका कारण पूर्जालाई नेपाल प्रवेशमा बन्देज लगाउन माग गरेका थिए ।
बजगाईँले मंगलबारको बैठकमा पनि फेरि यही कुरा दोहो¥याएका थिए । त्यसको प्रतिकार गर्दै पौडेलले सांसद बजगाईँमाथि पनि छानविन हुनुपर्ने उल्लेख गरेका छन् । उनले बजगाईँमाथि ‘टाइगर प्यालेस कसले ल्यायो, कसले भगायो ? नेपालबाट २२५ मिलियन पैसा युके कसले लग्यो ? टुकुचामाथि होटल कसले बनायो ?’ भनेर प्रश्न गरेका छन् ।
यसबारे बजगाईँमाथि छानविन हुनुपर्ने पनि उल्लेख गरेका छन् ।
बजगाईँले गत जेठ २२ मा प्रतिनिधिसभामा पूर्जालाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउन माग गरेपछि पूर्जाको समर्थनमा गत बिहीबार अनेरास्ववियुले म्याग्दीको बेनीमा प्रदर्शन गरेको थियो ।