कास्की । गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले खगराज अधिकारी नेतृत्वको सरकारमाथि बौद्धिक चोरीको आरोप लगाएका छन् ।
प्रदेश सभामा चलिरहेको नीति तथा कार्यक्रमको छलफलमा सुवेदीले सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले ल्याएको दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्रमा केही नारा र फोटो फेरेर जस्ताको तस्तै उतारेर पुनः प्रकाशन गरी अधिकारी सरकारले बौद्धिक चोरी गरेको बताए ।
यसअघि बजेटको सिद्धान्त र छलफलका क्रममा सुवेदीले सरकार अविछिन्न उत्तराधिकारी संस्था भए पनि केही नारा र फोटो फेर्नकै लागि अधिकारी सरकारले आधारपत्र परिमार्जन गरेको बताएका थिए ।
त्यसको जवाफ बिहीबार संसदको रोस्ट्रमबाट दिँदै पूर्वमुख्यमन्त्री खगराज अधिकारीले निष्ठाको राजनीतिमा लागिरहेको आफूलाई फोटोको कुनै मोह नभएको बताएका थिए । अध्ययनशील मानिएका प्रदेश सभा सदस्यबाट तुच्छखालका शब्दहरु प्रयोग गरिनु संसदकै मर्यादा विपरीत रहेको अधिकारीको भनाइ थियो ।
प्रदेश सभा सदस्य सुवेदीले शुक्रबारको छलफलमा पहिलो आधारपत्रको नक्कल गरी दोस्रो सार्वजनिक गर्दा पहिलोलाई आभार समेत व्यक्त नगरिएको भनेर गुनासो गरे ।
उनले भने ‘२०५१ सालदेखि फोटो टाँस्दै आउनुभएको माननीयलाई फोटो टाँस्ने रहर नभए पनि योजना आयोगमा नियुक्त भएकाहरुको फोटो टाँस्ने रहरलाई रोक्न सक्नुपथ्र्यो ।’ रुपान्तरणका १४ वटा क्षेत्र परिमार्जन नगरी केबल फोटो र नारामात्र परिवर्तन गरिएको उनको भनाइ छ ।
बिहीबार करिब एक घण्टासम्म बोलेका अधिकारीले नीति तथा कार्यक्रम समाजवादतर्फ उन्मुख गराउने नभएकाले एमालेको तर्फबाट समर्थन योग्य नरहेको बताएका थिए ।
यसक्रममा नीति तथा कार्यक्रममा आमसञ्चारको विषय कतै उल्लेख नभएकोमा अधिकारीले गम्भीर आपत्ति जनाए । उनले भने ‘मिस्टेक त होइन होला सरकार लोकतन्त्रको पनि अत्यन्त मसिहा ठान्छ आफूलाई । मैले चस्मा खोलेर पनि हेरेँ, लाएर पनि हेरेँ, त्यो विषय कहीँ पनि उल्लेख छैन । किन यस्तो पर्न गयो ? यथेष्टै पुगेको हो त ? अज्ञानतावस होइन, ज्ञान नभएको भनौँ भने न्याय इन्साफ नगरेको भन्नु होला ।’
यसको जवाफमा पनि अधिकारीलाई लक्षित गरी सुवेदीले दृष्टिमा समस्या देखिएकाले चश्मा फेर्न अथवा सन्दुक रुइतसँग जँचाउन पनि सुझाव दिए ।