एमसिसी : रातमाटेको सबस्टेसन निर्माण भारतीय कम्पनीको जिम्मा

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्ने कामको जिम्मेवारी भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ ।

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले नेपालले यो कामका लागि भारतीय कम्पनी टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङसँग सम्झौता गरिएको आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

सम्झौता अनुसार, ४०० केभी ग्यास इन्सुलेटेड स्वीचगियर (जिआइएस) सवस्टेसन ३९ महिनाभित्र निर्माण गरिने र निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसन नेपालकै ठूला सबस्टेसनमध्ये एउटा हुने एमसिए नेपालले विज्ञप्तिमा उल्लेख गरेको छ ।

पाँच करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौंडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसिए–नेपालको विश्वास व्यक्त गरेको छ ।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले एमसिसी र एमसिए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेर आदानप्रदान गरेका थिए । एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीन वटा सवस्टेसनमध्ये एमसिए नेपालले हस्ताक्षर गरेको यो दोस्रो सबस्टेशन निर्माण सम्झौता हो ।

यो सम्झौतापछि नेपालको प्रसारण प्रणाली विकास योजना (टिएसडिपीएन) मा नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको महत्वपूर्ण अङ्गका रूपमा परिकल्पना गरिएको ४०० केभी रातामाटे सबस्टेसन नेपालको ऊर्जा क्षेत्रमा एमसीसी नेपाल कम्प्याक्टको अर्को महत्वपूर्ण उपलब्धि हुने विश्वास गरिएको छ ।

निर्माण सम्झौतामा हस्ताक्षरपछि मिलेनियम च्यालेञ्ज कर्पोरेशनका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले भने, ‘तीन वटा सबस्टेशनमध्ये दोस्रो रातमाटे सवस्टेसन निर्माण सम्झौतामा हस्ताक्षरबाट एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनले गति लिएकाले यसलाई एउटा कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा ठूलो फड्कोका रूपमा लिन सकिन्छ । आगामी केही वर्षमा एमसिसी नेपाल कम्प्याक्टको प्रगतिले नेपालको बढ्दो ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने कुरामा हामी विश्वस्त छौं ।’

चार सय केभी रातमाटे सबस्टेसनमा जलविद्युत् आयोजना र सबस्टेसनबाट प्राप्त हुने तीन हजार दुई सय मेगावाटभन्दा बढी बिजुली प्रसारण गर्ने क्षमता पनि हुनेछ । नेपालमा औद्योगिक र व्यावसायिक क्रियाकलापमा वृद्धि ल्याउन यस सबस्टेसनमा विभिन्न भोल्टेजस्तरमा उपलब्ध हुने भरपर्दो बिजुली वितरण गरिनेछ ।

एमसिसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म तीन सय १५ किमी प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । १८ किमी सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन भइरहेको छ । एमसिए–नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै, बाँकी दुई सय ९७ किमी प्रसारण लाइन निर्माणका लागि यथाशीघ्र यसै वर्ष पुनःबोलपत्र आह्वान गर्ने तयारी भइरहेको एमसिए नेपालले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१