काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालभरीबाट बिबिए अध्यापन गर्ने कलेजहरु सम्मिलित टियु बिबिए कप क्रिकेट आगामी असार १२ गतेदेखि सुरु हुने भएको छ ।
साविक विजेता टिम काठमाडौंकै पब्लिक युथ क्याम्पसको आयोजनामा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगितामा अहिलेसम्मकै धेरै टोलीको सहभागिता रहने आयोजक टोलीले जनाएको छ । प्रतियोगितामा २२ टोलीको सहभागिता रहेनछ ।
झापाको मेची बहुमुखी क्याम्पस र काठमाडौंकै मोर्डन नेपाल कलेजले पहिलोपटक सहभागिता जनाउन लागेका हुन् । प्रतियोगिताका सम्पुर्ण खेलहरु काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।
प्रतियोगिताको उपाधि विजेता टोलीले ९० हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ४० हजार रुपैयाँ नगद, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
आयोजक इभेन्ट म्यानेजर म्यान क्यान डु का म्यानेजिङ डाइरेक्टर सुनिल थापाका अनुसार वर्षाको सिजन भएकाले एकै दिनमा ३ खेल पनि खेलाउनुपर्ने अवस्था आउन सक्ने बताउँदै टोलीहरुलाई त्यही अनुसार तयार रहन आग्रह गरेका छन् । खेलमा अनुशासनको उत्तिकै महत्व हुने बताउँदै उनले सबै टोलीलाई अनुशासन कायम राखेर खेल प्रदर्शन गर्न सुझाव दिएका छन् ।
आयोजक पब्लिक युथ क्याम्पसका बिबिए डाइरेक्टर राजुभाइ मानन्धरले समेत खेलमा अनुशासनको निकै महत्व हुने जनाउँदै बिबिए बाट उत्कृष्ट टिम र खेलाडी निस्कनेमा आशावादी रहेको बताए । सबै टिमलाई शुभकामना दिँदै उनले आफुले सकेको मिहिनेत गरेर नाम स्थापित गराउने कुरामा जोड दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पब्लिक युथ क्याम्पस र पिपल्स क्याम्पस खेल्ने छन् ।