सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री वेइडोङ आज नेपाल आउने

काठमाडौं । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपालको तीनदिने औपचारिक भ्रमणमा आउँदै छन्।

भोलीबाट (मंगलबार) काठमाडौंमा हुने नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन वेइडोङ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकको लागि चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्दैछन् । बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीच भएका द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालले व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार, कृषि, शिक्षा, चिनिया सहयोग लगायतको विषयलाई समेटेर एजेन्डा तय गरेको जनाइएको छ ।

बैठकमा नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई सिघ्र सम्पन्न गर्नेबारे समेत छलफल हुने परराष्ट्रले जनाएको हो ।

यसैबीच तीन दिने नेपाल भ्रमण सकेर १२ गते स्वदेश फकिनु अघि उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता समेत गर्ने छन् ।

संयन्त्रको १५औँ बैठक गत वर्ष बेइजिङमा सम्पन्न भएको थियो ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१