• २०८३ साउन १
  • 2026 July 17, Friday

एसईई : १८६ जनाले ल्याए चार जीपए, आधा बढी परिक्षार्थी फेल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ।

७ बजेपछि बसेको बोर्डको बैठक सकिएपछि नतिजा सार्वजनिक गर्ने निणर्यसँगै बोर्डले नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको २ लाख २२ हजार ४ सय ७२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण गरेका छन् ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार २ लाख ४२ हजार ९२ जना अर्थात् ५२ प्रतिशत विद्यार्थी (एनजी) फेल भएका छन्। अध्यक्ष शर्माका अनुसार २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ। यस्तै, १८६ जनाले चार जीपिए ल्याएका छन्।

परीक्षा बोर्डले हिजो नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो। तर,आन्तरिक तयारी नसकिएपछि नतिजा आज सार्वजनिक भएको छ ।

गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए।

बोर्डले एसइई नतिजा हेर्न परिक्षार्थीका लागि सार्वजनिक सूचना यसअघि नै जारी गरेर जानकारी दिइसकेको छ।

एसइई नतिजा वेबसाइट,एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ। आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिनेछ ।

याे पनि : यसरी हेर्न सकिन्छ एसईईको ‘रिजल्ट’