आफू अस्थिर नभएको भए समृद्धिको नयाँ अभियान चल्ने थिएन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अस्थिर नभएको भए समृद्धिको नयाँ अभियान सुरु नहुने दाबी गरेका छन् ।

आइतबार नेकपा एकीकृत समाजवादी पार्टीको दशौं महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेकपा एसको दस्तावेजमा आफूलाई अस्थिर भनेपछि जमेको पानीको पोखरी जस्तो भएर बस्नु माक्र्सवाद हो कि ?गढगडाउँदो नदीजस्तो भएर उर्लनु माक्र्सवाद हो ?’ भन्दै प्रश्न गरे ।

उनले भने, ‘मैले तपाईंहरुको दस्तावेज पूरै हेर्न भ्याएको छैन् । तर तपाइँहरुले बिभिन्न राजनीतिक दलको मुल्याङ्कन गर्दा नजिकको मित्रका साथै प्रचण्ड अस्थिर भन्नुभएको छ । तपाईंलाई त्यो भन्ने अधिकारमा प्रश्न उठाउँदिन । शान्ति प्रक्रिया पछि समृद्धिको नयाँ अभियान चलेको प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैनथ्यो । शान्ति सम्झौता पनि हुनदैनथ्यो । प्रक्रियामा यहाँ आइपुग्दैन थियौं । जमेको पानीको पोखरी जस्तो भएर बस्नु माक्र्सवाद हो कि ?गढगडाउँदो नदीजस्तो भएर हुर्रिने माक्र्सवाद हो ?।’

अहिले पनि भ्रष्टहरू गिरफ्तार गर्ने र मुद्दा चलाउने प्रक्रिया चलिरहेको भन्दै भ्रष्टाचारविरोधी अभियानलाई पनि निस्तेज पार्ने प्रयासहरू भइरहेको उनको भनाई छ ।उनले भने, ‘मैले सरकारको नेतृत्व गरेदेखि नै भ्रष्टाचारविरुद्धको पहल बढाइराखेको छु । अहिले पनि भ्रष्टहरू गिरफ्तार हुने, तीनिहरूमाथि पनि मुद्दा चल्ने प्रक्रिया चलिरहेको छ । तर, यहाँ सबै भ्रष्टमात्रै छन् भन्ने व्याख्या गरिएको छ । अहिले भ्रष्टाचारविरोधी अभियानलाई पनि निस्तेज पार्ने प्रयासहरू भइरहेका छन् ।’

प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादी र माओवादी सुरुआतदेखि नै एउटै मोर्चामा बसेर एउटै पार्टी बनाउने प्रयास गरिरहेको पनि बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१