काठमाडौं । भेट्टाएको नागरिकताबाट कम्पनी खोलेर तीन करोड रुपैयाँ ठगीको घटना सानिमा बैंकसँगको मिलिभगतमा भएको पाइएको छ । उदयपुरका नारायणबहादुर राई र बाजुराका पर्वराज पाण्डेको हराएको नागरिकता भेट्टाएर रामेछापका राजन श्रेष्ठ र झापाका इश्वरी पाण्डेले कन्सल्टेन्सी दर्ता गरी ठगी गरेका थिए । उनीहरुले त्यही भेट्टाएको नागरिकता प्रयोग गरेर काठमाडौंको पुतलीसडकमा रहेको सानिमा बैंकको शाखामा खाता खोलेका थिए ।
खाता खोल्ने व्यक्तिको फोटो र नागरिकता फरक–फरक हुँदा पनि बैंकले खाता खोलिदिएको थियो । यसरी खाता खोलिनुमा बैंकका सीईओ निश्चलराज पाण्डेकै संलग्नता रहेको पाइएको छ ।
ठगीमा संलग्न इश्वरी पाण्डे र सानिमा बैंककाे शाखा प्रबन्धक पोषण पाण्डे साथी हुन् । उनीहरुको आपसी चिनजान र साथीको सम्बन्धका कारण राजन श्रेष्ठले नारायणबहादुर राईको नागरिकता र आफ्नै फोटो प्रयोग गरी बैंकमा खाता खोलेका थिए ।
श्रेष्ठ र पाण्डेले वैदेशिक रोजगारमा जापान पठाइदिने भनेर २ सय १९ जनाबाट पैसा लिएका थिए । यसमा सानिमा बैंकको शाखाले उनीहरुलाई पूर्ण रुपमा सहयोग गरेको प्रष्टै देखिन्छ ।
बैंकले भेरिफाइमा लापरबाही गर्दा सर्वसाधारणहरु ठगिएकाले यो प्रकरणमा बैंकमाथि पनि अनुसन्धान गर्नुपर्ने प्रहरी प्रतिवेदनको निष्कर्ष छ । तर यहाँ बैंकले भेरिफाइमा लापरवाही गरेको भन्दा पनि बैंकका सिईओदेखि शाखा प्रबन्धकसम्मको मिलेमतोमा नै यो ठगी भइरहेको देखिन्छ ।
नागरिकता एक जनाको र फोटो अर्कैको प्रयोग गर्दा पनि सजिलै खाता खोलिनुमा बैंकमाथि आशंका स्वभाविक रुपमा नै गर्न सकिन्छ । त्यसमाथि पनि यहाँ ठगीमा संलग्न व्यक्ति, बैंक शाखाका शाखा प्रबन्धक र बैंकको सीईओको कनेक्सन र साथीको सम्बन्धबारे मुख्य अभियुक्त राजन श्रेष्ठले प्रारम्भिक बयानमा नै बताएको स्रोतले जनाएको छ ।
भेरिफाइमामात्र लापरवाही भएको भए शाखामा कार्यरत पोषण पाण्डे कारबाहीमा पर्थे तर उनको बचाउमा बैंकका सिईओ निश्चलराज पाण्डे लागेका छन् । यसबाट पनि सानिमा बैंक आर्थिक अपराधको मतियार बनिरहेको प्रष्ट देखिन्छ ।
यही विषयमा राष्ट्र बैंकले पनि चासो राखेर सानिमा बैंकलाई कारबाही हुनसक्ने बताएको थियो तर हालसम्म कारबाही भने भएको छैन ।
सानिमा बैंकलाई कारवाही गर्न अर्थ समितिमा सांसदको ध्यानाकर्षण, गभर्नर भन्छन्– कसैलाई छोड्दिन
यसरी सुरु भएको थियो अपराधको शृंखला
उदयपुरका नारायणबहादुर राई करिब एक दशकअघि ज्यामी काम गर्थे । भैंसेपाटीबाट नारायणस्थानमा काम गर्न साइकलमा जाँदा उनको नागरिकतासहितको पर्स हराएको थियो ।
अहिले पठाओ चलाएर दैनिक गुजारा चलाइरहेका उनै राईविरुद्ध पक्राउ पूर्जी जारी भएपछि प्रहरीले उनलाई बोलाएर सोधपुछ गरेको थियो । करिब ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ पूर्जी जारी भएका राईमाथि प्रहरीले अनुसन्धान अघि बढायो ।
नगरेको अपराधमा संलग्न भएको पाइएपछि नारायण राई अचम्ममा परे । यअसघि बाजुराका पर्वराज पाण्डेलाई प्रहरीले पक्राउ गरेर एक दिन हिरासतमा राखिसकेको थियो ।
उनीहरुको नागरिकता प्रयोग भएर बैंक खाता खोलिएको र जापान जानेहरुले सोही बैंक खातामा रकम जम्मा गरेका थिए । तर अनुसन्धानका क्रममा भने पर्वराजको पनि हराएको नागकिरता प्रयोग गरेर बैंक खाता खोलेर ठगी गरेको र नारायण राईको पनि हराएको नागरिकता दूरुपयोग भएको खुलेपछि अनुसन्धानले नयाँ मोड लिएको थियो ।
भेट्टाएको नागरिकताबाट पुतलीसडकमा नियोनी एडुकेशन कन्सल्टेन्सी खोलेर केहीलाई विद्यार्थी भिसामा र केहीलाई कामदार भिसामा जापान पठाउने भन्दै रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ बस्ने ३५ वर्षीय राजन श्रेष्ठ र झापाको गौरादह नगरपालिका–१ घर भइ ललितपुरको भैसेपाटी बस्ने ४६ वर्षीय ईश्वरी पाण्डेले ठगी गरेका थिए ।
उनीहरुले भेट्टाएको नागरिकता अनुसार नै आफूहरुलाई चिनाएका थिए । रामेछापका राजन श्रेष्ठले आफूलाई उदयपुरका नारायण राई भन्थे भने झापाका इश्वरी पाण्डेले आफूलाई बझाङका पर्वराज पाण्डे भन्थे ।
वैदेशिक रोजगारीका नाममा आफूहरु ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।
वैदेशिक रोजगार विभागमा उजुरी परेपछि विभागले अनुसन्धान नै नगरी बैंक खाताको विवरण अनुसार र कन्सल्टेन्सी कसको नाममा छ उसैको नाममा पक्राउ पूर्जी जारी गरेपछि ठगीमा सम्बन्धित नै नभएका पर्वराज पाण्डे र नारायण राईले केही समय सास्ती खेपेका थिए ।
प्रहरीले अनुसन्धान गरेपछि बल्ल बैंक खाता खोल्दा पाण्डे र राईको नागरिकता प्रयोग भएको तर फोटोमा भने अर्कै व्यक्तिको फोटो टाँस गरेर ठगी भएको खुलेको थियो ।
भेट्टाएको नागरिकताबाट कन्सल्टेन्सीदेखि बैंक खातासम्म खोलेर ठगी गरेको खुलेपछि पर्वराज र नारायणबहादुरले छुटकारा पाएका थिए ।
वैदेशिक रोजगार विभागद्वारा अभियोगपत्र दायर
आफूलाई नारायण राई बताउने राजन श्रेष्ठ र पर्वराज पाण्डे बताउने इश्वरी पाण्डेसहित अर्का एक फरार व्यक्ति ओखलढुंगाका ५१ वर्षीय मानबहादुर तामाङ विरुद्ध वैदेशिक रोजगार विभागले मुद्दा दर्ता गरेको छ ।
तीनजना विरुद्ध दर्ता गरेको अभियोग पत्रमा १ करोड ५६ लाख ८२ हजार रकम ठगी भएको भनी उल्लेख गरिएको छ ।
दीपबहादुर तामाङ, सुमन घिमिरेसहित ४९ जनाले उनीहरुविरुद्ध ठगीको उजुरी दिएका छन् । वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ मा इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा हुने सजायको व्यवस्था गरेको छ ।
इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाई दिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारीमा लगाई दिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जाना बापत असूल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ भने विदेश पठाइ नसकेको भए सो सजायको आधा सजाय हुने व्यवस्था छ ।
सम्बन्धित समाचारहरु :
आर्थिक अपराधको केन्द्र सानिमा बैंक, अलग–अलग व्यक्तिकाे नागरिकता र फाेटाेबाट पनि खुल्छ खाता !
हराएको नागरिकता प्रयोगगरी करोडौं ठगी, मतियार बन्दै बैंक [भिडियो सहित]