अमेरिकाको ओहायोमा चक्र विज्ञान, चारसय बढी सहभागी

काठमाडौं । संयुक्त राज्य अमेरिकाको ओहायोमा सम्पन्न चक्र विज्ञानमा सहभागीले शान्ति र आनन्दसँगै जीवन परिवर्तनको महसुस गरेको बताएका छन् ।

एनआरएनए अमेरिकाका संयोजक मोहन न्यौपानेले सातदिनमा पूरै जीवन नै नयाँ भएको बताए । उनले योग र ध्यानको ज्ञानसँगै प्रयोग एवम अभ्यासले आफुमा परिवर्तन भएको महसुस भएको बताए । उनले आफूले बुझेकोभन्दा अध्यात्मको ज्ञान बृहत भएको अनुभूति भएको बताए ।

डा. रुद्र भट्टले जीवनमा कही पनि नपाएको ज्ञान र साधनाको विधि पाएको बताउँदै यसले जीवनमा शान्ति मिलेको अनुभव सुनाए ।ध्रुवराज गिरीले कार्यक्रमले आफूमा आत्मबल, आध्यात्मिक शक्ति र जीवनप्रतिको उत्प्रेरणा जगाएको बताए । उनले विभिन्न विधिहरूको उत्कृष्ट संयोजन भएको कार्यक्रमले हरेक मानिसको जीवन परिवर्तन गर्ने जनाए ।

सन्तोष सुब्बाले कार्यक्रम जीवनउपयोगी भएको बताउँदै कार्यक्रममा सिकेको ज्ञान र विधि र अभ्यासलाई निरन्तरता दिन सके मानवको उद्धार हुने महसुस भएको बताए ।
कार्यक्रममा सात दिनसम्म जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एलपि भानु शर्माले हरेक मानिसभित्र रहेको चक्ररुपी ऊर्जा सक्रिय र सन्तुलित बनाउन ध्यानका वैज्ञानिक, व्यवहारिक र प्रयोगात्मक कक्षाहरू सञ्चालन गरेका थिए ।

विश्व हिन्दु भुटानी संगठनको आयोजनामा अमेरिकाको ओहायोस्थित ओम सेन्टरमा जुन २३ देखि २९ सम्म चलेको चक्र विज्ञान सप्ताहमा अमेरिकाका विभिन्न राज्यबाट चार सयभन्दा बढी व्यक्तिको सहभागिता थियो ।

कार्यक्रम समापनमा अवसरमा जीवन विज्ञान अमेरिकाका अध्यक्ष सुशिल शर्मा, जीवन विज्ञान परिषद् अमेरिका सह–संयोजक रचना सुवेदी, डा.लक्ष्मिनारायण ढकाल, विश्व हिन्दु भुटानी संगठनका अध्यक्ष कमल धिमाल सहितका पदाधिकारीलगायतको उपस्थिती थियो ।

 

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१