गृहमन्त्री रवि लामिछानेकाे आराेप : भ्रष्ट्राचारकाे फाइलले बेचैनी आएर नयाँ गठबन्धन बनाइयो

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झा पक्राउ परेपछि कांग्रेस एमालेमा बेचैनी आएर नयाँ गठबन्धन बनाइएको आरोप लगाएका छन् ।

मंगलवार सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एकाएक संविधान जोगाउनुपर्ने अवस्था नआएको बरू केही भ्रष्ट र अपराधि जोगाउनुपर्ने अवस्था आएको व्यंग गरे ।

उनले भने, ‘यो संविधान जोगाउन गरेको हो कि कसैलाई जोगाउन खोजेको हो ?’

लोकतन्त्रमा बलियो प्रतिपक्षी चाहिने भएकाले कांग्रेस-एमाले मिल्नु अस्वाभाविक भएको उनको भनाइ छ । ‘लोकतन्त्रमा संख्याको हिसाबले पनि बलियो प्रतिपक्षी चाहिन्छ,’ उनले भने, ‘कांग्रेस र एमालेको गठबन्धनले लोकतन्त्रमाथि नै प्रश्न उठाएको छ ।’

सोमवार मध्यरातमा कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसदको आगामी कार्यकालका लागि आधा/आधा समय प्रधानमन्त्री बन्ने सहमति भएको थियो ।

संविधान संशोधनलगायत केही बुँदामा ओली-देउवाबीच सहमति बनेपछि दुई ठूला दल मिलेर सरकार चलाउने भएका हुन् । पहिलो कार्यकालमा ओली र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१