‘गिरिजाबाबुले प्रजातन्त्र मात्र फर्काउनु भएन गणतन्त्र समेत ल्याउनुभयो’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाबाबु नभएको भए देशमा राजनीतिक परिवर्तन र गणतन्त्र केही नहुने बताएका छन् ।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित गिरिजाप्रसाद कोरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील रहेको भन्दै उनले गर्दा नै देशमा गणतन्त्र आएको बताए ।

उनले भने, ‘गिरिजाबाबु नभएको देशमा राजनीतिक परिवर्तन, गणतन्त्र केही पनि हुदैँन् थियो । त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीति, प्रजातन्त्रमा अत्यन्तै क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्वका कारणले नेपालमा प्रजातन्त्र आएको हो । मैंले विद्यार्थी बेलामा नै उहाँलाई चिनेको हुँ । ०२८ सालमा उहाँको समर्थन भएकै कारण पनि म नेविसंघको सभापति भएको हुँ ।’

उनले गरेको योगदान र प्राप्त गरेको उपलब्धीहरु बयान गर्न नसकिने पनि उनको भनाई छ ।उनले भने, ‘नेपालमा प्रजातान्त्रिक आन्दोलन पनि २००७ सालदेखि नै लड्दै आउनु भएको थियो । उहाँ कहिल्यै नथाक्ने मान्छे हो । उहाँले गर्नु भएको योगदान, लड्नु भएको लडाइँ, प्राप्त गर्नुभएको उपलब्धी छोटो कुरा गरेर सकिदैन । उहाँले प्रजातन्त्रको लागि लड्दा लड्दा गणतन्त्र समेत ल्याउनुभयो ।’

कांग्रेसले गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) को शताब्दी जन्मजयन्तीमा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी गरेको हो ।पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको १००औँ जन्मजयन्ती को अवसर मा ‘क्रान्तिदेखि शान्तिसम्म’ ऐतिहासिक तस्बिर प्रदर्शनी गरिएको हो ।

देउवाले उद्घाटन गरेको उक्त कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न दलका नेताहरुको उपस्थिति थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१