काठमाडौं । केन्द्रमा संसदका दुई ठुला दल नेपाली कांगैस र नेकपा एमालले सत्ता सहकार्य गर्ने सहमति गरेसँगै केन्द्रीय राजनीतिको बाछिटा प्रदेश सरकारमा पर्न गएको छ ।
लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका पाँच जना मन्त्रीले बिहीबार संयुक्त राजीनामा बुझाएका छन् ।एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताको जानकारी प्रदेशसभाका सभामुख तुलाराम घर्तीलाई बुझाइएको र मन्त्रीको राजीनामा मुख्यमन्त्री जोखबहादुर महराको सरकारी निवासमै पुगेर बुझाएका हुन्
लुम्बिनी प्रदेशमा गत चैत २३ गते एमालेसहितका ५ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ४८ जनाको समर्थनमा माओवादी केन्द्रका जोख बहादुर महरा मुख्यमन्त्री बनेका थिए ।लुम्बिनीमा एमालेबाट आर्थिक मामिलामा आचार्यसहित आन्तरिक मामिला तथा कानुनमन्त्रीमा दिनेश पन्थी, सहरी विकास तथा खानेपानीमन्त्रीमा भूमिश्वर ढकाल, सामाजिक विकासमन्त्रीमा रत्न खत्री र वन तथा वातावरण मन्त्रीमा अर्जुनकुमार केसी रहेका थिए ।
गत चैत २३ गते माओवादी केन्द्रका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेका २९, माओवादीका १०, जसपाका ३, नागरिक उन्मुक्तिका ४, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र गरी ४८ जनाको समर्थन थियो ।
जसपा टुक्रिएपछि जसपा नेपालतर्फ लागेकी अम्बिका काफ्लेले असार ९ गते नै समर्थन फिर्ता लिएकी छन् । एमालेका २९ जनाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका छन् ।