• २०८३ साउन १
  • 2026 July 17, Friday

‘नेपाललाई शैक्षिक केन्द्र बनाउन सम्भव छ’

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले नेपालाई शैक्षिक केन्द्र बनाउन सकिने दाबी गरेका छन् ।ललितपुर कुपण्डोलको पाटन कलेज फर प्रोफेसनल स्टडीजको दीक्षान्त समारोहमा बोल्दै महासेठले कम्तीमा पनि १० वर्षलाई राजनीति स्थिर हुने हो भने नेपाललाई शैक्षिक केन्द्र बनाउन सम्भव रहेको बताए ।

युवाहरूको विदेशी कलेजमा पढ्ने सपनालाई, विदेशका कलेजहरू नेपालमा नै ल्याएर पुरा गरिदिएको भन्दै उनले कलेजको प्रशंसा गरे ।दीक्षान्त समारोहमा बोल्दै नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले आफ्नो शिक्षालाई देशको समुन्नतिमा योगदान गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।

त्यसैगरी क्याम्पसका अध्यक्ष ई.पंकज जालानले भुटान र भारतका विद्यार्थी पनि आफ्नो कलेजमा अध्ययनरत रहेको भन्दै स्टुडेन्ट भिसामा सहजीकरण गरेर सहयोग गर्न सरकारसँग आग्रह गरेका छन् ।

दीक्षान्त समारोहमा क्याम्पसका बीएससी कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ र बिए बिजनेस एडमिनिस्ट्रेसन अध्ययन गरेका ५२ विद्यार्थी दीक्षित भएका छन् । पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हो ।

नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको अभिन्न अङ्ग पाटन कलेज फर प्रोफेसनल स्टडीजले हरेक प्रदेशबाट छानिएर आउने विद्यार्थीहरूलाई छात्रवृत्ति दिँदै आएको छ ।