• २०८३ साउन १
  • 2026 July 17, Friday

औषधी खरिदमा भ्रष्टाचार गरेको आरोपमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र तत्कालीन लेखापाल सुरेशकुमार कुसियैतविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैतले औषधि खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको हो ।

झा अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा प्रशासकीय अधिकृत र सूचना अधिकारी छन् । भ्रष्टाचारसम्बन्धी मुद्दा दर्तासँगै उनी निलम्बनमा परेका छन् ।

आव २०७४/०७५ मा गाउँपालिकाले नियोमेड इन्टरनेशनलसँग ५७ प्रकारको औषधिजन्य मालसमान खरिद गरेको थियो। उक्त मालसमानको नियमविपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदनविना नै आपूर्तिकर्ताले पेश गरेको बिलबमोजिमकै सम्पूर्ण रकम भुक्तानी दिएको आयोगले ठहर गरेको छ ।

औषधि खरिदमा ६ लाख २० हजार ९६ रुपैयाँ भ्रष्टाचार गरेको र सोबमोजिम बिगो कायम गरी आयोगले उनी दुबै जनाविरुद्ध आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक बोधराज पौडेलविरुद्ध मुद्दा दायर गरेको छ । झुट्टा विवरण पेश गरी शिक्षक नियुक्ति लिएको आरोपमा कास्कीको दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक पौडेल विरुद्ध मुद्दा दायर गरिएको हो।

पौडेलले सरकारी जागिर प्रयोजनका लागि दुई वटा नागरिकता प्रयोग गरेको आरोप लागेको छ । यसैगरी धनुषाको श्री माध्यमिक विद्यालय बरमझियाका राहत शिक्षक ब्रह्मदेव यादवविरुद्ध पनि मुद्दा दायर गरिएको हो । झुट्टा तथा नक्कली अध्यापन अनुमति पत्र सम्बन्धी आरोप उनीमाथि छ ।

साथै अख्तियारले बरमझिया स्कुलमा वि.सं. २०६३ सालदेखि नि.मा.वि. राहत शिक्षक यादवले नक्कली स्थायी अध्यापन अनुमति पत्र पेश गरी नियुक्ति भई तलब भत्ता खाएको अख्तियारको दाबी छ ।