• २०८३ असार १५
  • 2026 June 29, Monday

हामीले चिनेको रवि लामिछाने अब रहनुभएन : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूले चिनेको जस्तो रवि लामिछाने अब नरहेको बताएका छन्।

बुधबार पार्टीबाट निलम्बित भएपछि पत्रकार सम्मेलन गर्दै उनले रवि लामिछाने एक्सन म्यान भएतापनि अब पहिलाको जस्तो नरहेको बताएका हुन् ।

उनले भने, ‘हामीले चिनेको रवि लामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रवि लामिछाने अब रहनुभएन, ।’

उनले देश बाढीपहिरोको संकटमा भएका बेला गृहमन्त्री रवि लामिछानेले उचित संवेदनशीलता देखाउन नसकेको समेत बताए । लामिछाने पीडितको उद्धारमा खट्नको सट्टा महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक व्यस्त रहेको उनको भनाई छ ।

उनले भने,‘देशमा बाढी पहिरोको संकट छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । उहाँ नागरिकलाई कसरी उद्धार गर्ने, कसरी राहत दिने भनेर खट्नुभएको छैन । उहाँ महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक राखेर बसिरहनुभएको छ ।’