• २०८३ असार १५
  • 2026 June 29, Monday

अनुसन्धानको घेरामा परेपछि एमाले-कांग्रेसले रातारात सहमति गरे : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले अनुसन्धानको घेरामा परेपछि नेकपा एमाले र कांग्रेसले रातारात सहमति गरेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो बल्ल संविधानको याद आएको भनेर कटाक्ष गरे। रास्वपाका मन्त्रीहरुले राजीनामा नदिएर सरकारमा टाँसिएर बसेको भन्ने आरोपप्रति आपत्ति जनाउँदै उनले विपद्को बेला जनता बचाउनका लागि सत्तामै बसेको स्पष्ट पारे ।

‘हामीलाई आशंका छ एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी पुग्यो? रातारात संविधानको चिन्ता कसरी भयो ? जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो संविधानको याद आयो ?’ उनले प्रश्न गरे ।

गृहमन्त्री लामिछानेले दुई चारजना नेतालाई बाहेक सहमतीको जानकारी अरु कसैलाई नभएको भन्दै मध्यरातमा व्यापारीको घरमा बसेर गरिएको सहमती राष्ट्रिय सहमती कदापी नहुने टिप्पणी गरे ।

देश, जनता र आफ्ना दलका नेतालाई समेत थाहा नदिई गरिएको सहमतीलाई राष्ट्रिय सहमतिको नाम दिँदा ‘राष्ट्रिय’ शब्दको मानमर्दन भएको धारणा राखे ।

‘सदनमा जोडतोडका साथ सहमतीको कुरा चल्यो । तर दुःखका साथ भन्नुपर्छ । एक दुई जना नेता बाहेक सहमती भएको अरु कुनै नेतालाई थाहा छैन् । बिना जानकारीको सहमती न राष्ट्रलाई थाहा छ न देश, जनता र आफ्ना दलका नेतालाई थाहा छ,’ उनले भने ।