• २०८३ असार १५
  • 2026 June 29, Monday

राष्ट्रपतिले दिए पेरिस ओलम्पिकमा जाने खेलाडीलाई शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औं गृष्मकालिन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन् ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीहरुलाई शुभकामनासहित विदाइ गरेका हुन् ।सो अवसरमा राष्ट्रपति पौडेलले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे । उनले गृष्मकालिन पेरिस ओलम्पिकमा सहभागी खेलाडीहरूले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे ।

उनले दृढ संकल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीहरूलाई सुझाव समेत दिए ।सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहनु भएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए ।

खेलाडी विदाई कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठसहित ३३ औं गृष्मकालिन पेरिस ओलम्पिकमा नेपालबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलहरूको सहभागिता थियो ।