काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली कांग्रेस र एमालेबीचको सहकार्य रहर नभइ वाध्यता भएको बताएका छन् ।नेपाली कांग्रेस बाजुरा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको बधाई एवम सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले एक ठाउँमा आउनु बाध्यता भएको स्पष्ट पारे ।
‘कांग्रेस–एमालेबीचको सहकार्य रहर होइन वाध्यता हो । बिकृति र विसंगतीलाई अन्त्य गर्न हो । देशमा विद्यमान निराशालाई अन्त्य गर्न, अर्थतन्त्र सुदृढ पार्न र सुशासनको प्रत्याभूति दिनका लागि हो,’उनले भने, ‘विदेशमा गएकालाई नेपाल फर्कौं फर्कौं भन्ने बनाउन र स्वदेशमा रहेकालाई स्वदेशमै बसौं बसौं भन्ने बनाउन र सुशासन कायम गर्न एमाले–कांग्रेसको सहकार्य हो ।’
मुलुकलाई अपसंस्कृतिबाट असल संगतीतिर लानुपर्ने आफूहरुको वाध्यता रहेको उनको भनाइ छ । ‘विश्वका जतिपनि देशहरु विकासको उत्कर्षमा छन् वा सफलता हासिल गरेका देशहरु छन्, तिनीहरुले असल संस्कृति, इमान र निष्ठाको बाटोबाट प्राप्त गरेका हुन् । वीपी, गान्धी र मण्डेलाको बाटो भनेको आदर्श, निष्ठा र इमानको बाटो हो । त्यसैले हामी निष्ठा र इमानको बाटोमा अघि बढ्नेछौं,’मन्त्री पाण्डेले भने ।
शक्ति भन्ने कुरा प्राप्त भइरहला तर शक्तिको दुरुपयोग गरियो भने कुनै दिन आत्मघाती हुनसक्नेमा आफू सचेत रहेको उनको भनाइ थियो । ‘मन्त्री वा प्रधानमन्त्री भएर काम नगर्ने छुट छैन् । अनियमितता गर्न र भ्रष्टाचार गर्ने छुट छैन् । स्वच्छतासहितको काम गर्नुपर्ने आवश्यक्ता छ । धेरै गर्न नसके पनि राम्रो र स्वच्छ काम गर्न एवम बजेट कार्यान्वयन गर्न जरुरी छ,’उनले भने ।
पिछडिएका क्षेत्रलाई विकासको मूलधारमा ल्याउनुपर्ने दायित्व आफूसँग रहेको औंल्याउँदै मन्त्री पाण्डेले आफ्नो गृहजिल्लाको विकासमा सँधै कटिवद्ध रहने प्रतिवद्धता जनाए ।