धवलागिरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उद्यम क्षमता अभिवृद्धिका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं । बागलुङ्स्थित धवलागिरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको उद्यम क्षमता अभिवृद्धिका लागि धवलागिरी बहुमुखी क्याम्पस, आइडिया स्टुडियो नेपाल र प्रभु बैंककाविच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

विद्यार्थीहरुलाई उद्यमशील संस्कृति, मानसिक रुपमा अभिप्रेरित गर्ने, क्याम्पसलाई उद्यमशीलता र नवप्रवर्तन केन्द्रका रुपमा स्थापित गर्ने, क्याम्पसका प्राध्यापकहरुलाई सो विषयवस्तुमा अनुसन्धानमा संलग्न गराउने एंवम स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका संस्थासँग समन्वय गर्ने उद्देश्यले क्याम्पस, आइडिया स्टुडियो नेपाल र प्रभु बैङ्ककाविच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

व्यवसायिक इन्क्युवेशन सेन्टर स्थापना गर्ने प्रमुख उद्देश्यले त्रिपक्षीय समझदारी भएको स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदिप सागर कंडेलले बताए ।

स्वतन्त्र बिद्यार्थी युनियन धवलागिरी बहुमुखी क्याम्पस अन्तर्गत गठित (नेक्स्ट वेभ स्टार्ट अप सर्कल डी.एम.सी.) ले प्रस्ताव गरे अनुसार क्याम्पसले प्रभु बैंक समक्ष पेश गरेको प्रस्ताव पत्र बमोजिम बैंकले उक्त प्रयोजनका लागि उद्यमशीलता विकास केन्द्र (इन्क्युबेशन सेन्टर) स्थापना गर्न सहमति भएको थियो ।

समझदारी पत्रअनुसार प्रभु बैंकले उद्यमशीलता केन्द्र स्थापनामा प्रारम्भिक चरणमा आर्थिक सहयोग उपलब्ध गराउने, विद्यार्थीहरुमा स्र्टाट अप बिजनेसका लागि अनुदान रकम उपलब्ध गराउने, विद्यार्थीहरुलाई उद्यमशीलता र वैर्डाकड साक्षरतासम्बन्धी ज्ञान प्रदान गर्ने, वृद्धि विकास र व्यवसाय स्थापनाका लागि विभिन्न व्यावसायिक संस्था र शैक्षिक सस्थासँग सहकार्य गर्न लगायतका कार्यमा सहयोग गर्ने छ ।

आइडिया स्टुडियो नेपालले उद्यमशीलता सीप र ज्ञानसम्बन्धी पाठ्यक्रम तयार गर्नका लागि आइडिया स्टुडियो प्रयोगशालामा आधारित ७ दिने उद्यमशीलता पाठ्यक्रम कार्यशाला सञ्चालन गर्ने, प्राध्यापकहरुलाई अनुसन्धान र नवप्रवर्तनमा सहयोग पुर्याउने, आवश्यकताअनुसार विषयगत्त सेमिनारहरू सञ्चालन गर्ने र राष्ट्रिय तथा विश्वाव्यापी रुपमा ख्यातिप्राप्त विशेषज्ञहरूबाट अभिमुखीकरण कार्यक्रम सन्चालन गर्ने, उद्यमशीलता र नवप्रवर्तनका लागि क्याम्पसमा इन्क्युबेशन प्रयोगशाला निर्माण गर्ने लगायत यसका लागि प्राविधिक सहयोग उपलब्ध गराउने र क्याम्पसबाट आन्तरिक प्रतियोगिताका माध्यमबाट उत्कृष्ट सम्भावित उद्यमी विद्यार्थीहरूको चयन गरी व्यवसाय सञ्चालनका लागि प्रेरित गर्नेछ ।

क्याम्पसले (क्यु.ए. ए. सर्टिफिकेट) प्राप्त गरि अन्तराष्ट्रिय स्तरको मान्यता प्राप्त क्याम्प्सको रुपमा अगाडि बढाउन सफल भएको छ । स्वतन्त्र बिद्यार्थी युनियनको पहलमा क्याम्पसले पछिल्लो समय बिद्यार्थीहरुलाई दक्ष जनशक्तिको रुपमा निर्माण गर्नु मात्र नभएर बिद्यार्थीहरुलाई व्यवहारिक रुपमा सहजै रोजगार प्राप्त गर्ने, आफैले नेपालमै उद्यम र व्यवसाय सञ्चालम गर्न सक्ने किसिमको क्षमता विकास गर्ने लगायत विभिन्न प्रकारका कार्यक्रम क्याम्पसले गर्दै आइरहेको छ ।

कार्यक्रममा प्रभु बैंकका  (सी.ई.ओ.) अशोक शेरचनुले धवलागिरी बहुमुखी क्याम्पसमा बी.बी.ए. कार्यक्रममा उत्कृष्ट स्थान प्राप्त गर्ने ३ जना विद्यार्थीहरुलाई प्रभु बैकमा जागिर दिने प्रतिवद्धता गरेका छन् ।

यसका साथै क्याम्पसले इन्क्युबेशन प्रयोगशाला उपलब्ध गराई उद्यमशीलताका लागि विद्यार्थीहरुलाई सातदिने प्रतिस्पर्धा कार्यक्रममा सहभागी गराउने, दुईजना पूर्णकालीन शिक्षकलाई यस परियोजनामा सहभागी गराउने लगायतका कुरामा प्रतिबद्धता जनाएको छ ।

समझदारी पत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनु, आइडिया स्टुडियो नेपालका तर्फबाट कार्यकारी निर्देशक डा. छिरिङ लामा र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्रा.डा.रामप्रसाद उपाध्यायले संयुक्त रुपमा हस्ताक्षर गरी समझदारी पत्र आदानप्रदान भएको सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मीले बताए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१