• २०८३ जेठ २२
  • 2026 June 05, Friday

भलिबललाई प्राथमिक तहदेखि नै प्राथमिकता दिनुपर्छः मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै सरकारले प्राथमिकतामा राख्ने बताएका छन् ।

बिहीबारदेखि काठमाडौंमा सुरू भएको काभा नेशनल वुमन्स लिगको सम्बोधन गर्दै भलिबल खेललाई प्राथमिक तहदेखि नै प्राथमिकता दिने बताएका हुन् ।खेलकुद मन्त्रीले भने, ’अब देशभरका विद्यालयको प्राथमिक तहदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो बुझाइ छ ।’ उनले यसका लागि आफू स्वास्थ्य र शिक्षा मन्त्रालयसँग पहल गरिरहेको समेत बताए ।

यस्तै उनले भलिबल खेलका लागि संरचना, भौतिक पूर्वाधार स्थानीय, प्रदेश र संघमा सुविधा सम्पन्न बनाउन पहल गर्ने बताए ।‘मैले सुनेको छु, देशभरको भलिबल खेलका लागि संरचना, भौतिक पूर्वाधार स्थानीय, प्रदेश र संघमा सुविधा सम्पन्न छैन । तर यी सबै क्षेत्रमा खेलका लागि भौतिक संरचना हुनुपर्छ । म यसका लागि पहल गरिरहेको छु,’ उनले भने ।

भलिबल संघलाई यसमा सहकार्य र समन्वय गर्न पनि मन्त्री चौधरीले आग्रह गरे । उनले भने, ‘भलिबल राष्ट्रिय खेल भएकाले संघ, प्रदेश र स्थानीय तहमा भलिबल कोर्ट बनाउने, खेलाडी उत्पादन गर्नेबारे भलिबल संघका पदाधिकारीहरूसँग समन्वय गरिरहेको छु ।’