
काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा बिहिबार ७८ वटा बिरुवा रोपिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व वातावरण दिवसका अवसरमा आममानिसलाई आफ्नी आमाको सम्मानमा वृक्षारोपण गर्न आग्रह गर्दै ‘एक पेड माँ के नाम’ अभियानको उद्घाटन गरेका थिए ।
प्रधानमन्त्रीको यो अभियानले अहिले व्यापक समर्थन पाएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । यसै परिपेक्षमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बिहीवार भारतीय दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपेर वातावरण संरक्षणको यस अभियानलाई अघि बढाएका छन् ।
यसअघि भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि साउन २७ गते दूतावास परिसरमै अर्को नीलो गुलमोहरको बिरुवा रोपेर अभियानप्रति आफ्नो प्रतिबद्धता प्रकट गरेका थिए ।
वातावरण संरक्षण तथा वातावरणीय दिगोपन प्रवर्द्धन गर्न भारतीय डायस्पोराका सदस्यहरू र भारत–नेपाल मैत्री संघ पनि बिरुवा रोपी भारतीय दूतावास यस प्रयासमा सामेल भएका छन् ।
‘एक पेड माँ के नाम’ पहलसँगै काठमाडौंस्थित भारतीय दूतावासले बिहीवार आफ्नो परिसरमा ७८ वटा बिरुवा रोप्दै भारतको ७८ औं स्वतन्त्रता दिवस मनाएको छ ।
‘दूतावासका अधिकारी, तिनका परिवार तथा बालबालिका सम्मिलित यस कार्यक्रमले वातावरणीय दिगोपन तथा विश्वव्यापी कल्याणप्रतिको हाम्रो जारी प्रतिबद्धतालाई झल्काउँछ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।