प्रेस कार्डको दुरुपयोग गर्नेलाई कारबाही : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस कार्डको दुरुपयोग गरेको पाइए कुनै पनि पत्रकारलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

बुधबार काउन्सिलमा भएको विद्यार्थीसँगको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले समाजलाई तर्साउन र धम्क्याउन नभइ सिर्जनात्मक काम गर्नका लागि हतियारका रुपमा प्रेस परिचयपत्र उपलब्ध हुने भन्दै त्यसको सदुपयोग हुनुपर्ने बताए ।

‘डाक्टरको हातमा भएको चक्कु गलत प्रयोग गरिए के हुन्छ ?’ पछिल्ला दिन प्रेस पास दुरुपयोगमा छानबिन भइरहेको जानकारी दिँदै अध्यक्ष बस्नेतले भने, ‘मिडियाको प्रेस पास पनि त्यस्तै हो । पत्रकारिताको हितमा समर्पित गर्न पत्रकारलाई प्रेस पास दिइएको हो ।’

उनले सामाजिक सञ्जालमा आएका सूचना र सञ्चार माध्यमका समाचारले आम मानिसमा अन्यौलता र समस्या सिर्जना गरेकाले मिडिया साक्षरता समाजका लागि समेत आवश्यक भएको बताए ।

‘पत्रकारलाई, सञ्चार माध्यमलाई मात्र होइन, अहिले सूचना प्रविधिको कारण मिडिया साक्षरता समाजका लागि पनि आवश्यक छ । हामीले फरक छुट्याउन सक्नुपर्छ’ उनले भने ।

आम सूचना अहिले जसले जहाँबाट पनि दिन सक्ने भन्दै उनले पत्रकारले निर्माणका कुरा, सकारात्मक परिवर्तनका सवाल र रचनात्मक विषयलाई सम्प्रेषण गर्न सक्नुपर्ने बताए । काउन्सिलले युट्युब माध्यमलाई व्यवस्थित बनाउन मापदण्ड बनाइ आवश्यक नियमन गर्दै आएको छ ।

उनले मिडिया साक्षरताका लागि राज्यले लगानी बढाउन सुझावसमेत राखे । प्रेस कार्डको दुरुपयोग गरी धम्क्याउने, बार्गेनिङ गर्नेलगायतलाई काउन्सिलले कार्ड खोस्ने, आचारसंहिता कक्षामा सहभागी गराउने, कालोसूचीमा राख्ने, विज्ञापन रोक्नेजस्ता कारबाही काउन्सिलले गर्दै आएको छ । साइवर र अन्य अपराधजन्य अभियोगमा भने काउन्सिलले अनुसन्धान गर्ने निकायसँग सहकार्य गरी कारबाही गर्दै आएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१