• २०८३ साउन २
  • 2026 July 18, Saturday

महानगरको सक्रियतामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन गरेर निःशुल्क आयुर्वेद औषधी वितरण गरिरहेको छ । ववरमहलमा वडा कार्यालय रहेको भवनको भुइँ तलामा केन्द्र स्थापना गरिएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रवर्धन गर्ने महानगरपालिकाको नीतिअनुरुप केन्द्र स्थापना गरिएको जानकारी दिँदै आरोग्य जीवन स्वर्णिम योजनाका फोकल पर्सन तथा वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओलीले, चालु आर्थिक वर्षमा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

सरकारले आधारभूत स्वास्थ्य सेवाका लागि निःशुल्क वितरण गर्न २३ प्रकारका आयुर्वेद औषधी तोकेको छ । यसमध्ये केन्द्रबाट २० प्रकारका औषधी वितरण गर्ने गरिएको छ । केन्द्रका वैद्य निरीक्षक मञ्जुश्री ठाकुर भन्छिन्, ‘साउन महिनाभरिमा ७२० जनाले निःशुल्क औषधी लिनुभयो ।’ उनका अनुसार सबैभन्दा धेरै ग्याष्ट्रिकका लागि औषधी माग हुने गरेको छ । यसपछि पिनास र बाथ रोगका विरामी धेरै आउँछन् ।

केन्द्रमा वैद्य निरीक्षक ठाकुरसँगै वरिष्ठ वैद्य पार्वती रावल कार्यरत छन् । पूर्वकर्म, निःशुल्क औषधी वितरणसहित केन्द्रबाट आयुर्वेद चिकित्सकसहितको नियमित ओपिडी सेवा, अकुपङ्चर सेवा, योग परामर्शसहित आरोग्य जीवनसँग सम्बन्धित परामर्श र स्वास्थ्य प्रवर्धन सेवा वितरण गर्ने तयारी छ ।
आधारभूत स्वास्थ्य सेवामा नागरिकको निःशुल्क पहुँचलाई नेपालको संविधानको मौलिक हकमा सुनिश्चित गरिएको छ । यसमा आयुर्वेद र वैकल्पिक चिकित्सा सेवा पनि पर्दछ । महानगरपालिकाले गुणस्तरीय निःशुल्क वैकल्पिक चिकित्साको प्रवर्धन गर्ने नीति लिएको छ ।