‘होस्टेल ३’को छायाङ्कन सुरु

काठमाडौं। नेपाली चलचित्र ’होस्टेल ३’को छायाङ्कन सुरु गरिएको छ।

आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्र ’होस्टेल ३’को छायाङ्कन सुरु गरिएको हो ।

नेपाली मुहूर्त शटमा चलचित्रका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै सुरुवात गरेका छन्। चलचित्रको छायाङ्कन काठमाडौंको बोडेमा सुरु भएको छ। यहाँ पहिलो चरणको छायाङ्कन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायाङ्कन सुरु गरिने चलचित्रका निर्देशक सशान कँडेलले बताए।

’होस्टेल’ शृङ्खलाको महत्वपूर्ण तेस्रो कडीका रूपमा हेरिएको ’होस्टेल ३’ मा ’कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ। अभिनेता आर्यन सिग्देलले चलचित्रमा होस्टेलको वार्डेनको भूमिका निभाउनेछन् भने अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिका निभाउनेछिन्। आइतबार सम्पन्न मुहूर्तमा आर्यन सिग्देल र परीक्षा लिम्बु बाहेक चलचित्रका अन्य सबै कलाकारहरूको उपस्थिति रहेको थियो।

’होस्टेल’ शृङ्खलाले नयाँ कलाकारहरूलाई नेपाली सिने उद्योगमा स्थापित गराउँदै आएको छ। पहिलो ’होस्टेल’ चलचित्रबाट अनमोल केसी, सलोन बस्नेत, र प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए भने ’होस्टेल रिटर्न्स’ले स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, र सुशील सिटौलालाई परिचित गराएको थियो।चलचित्र ’होस्टेल ३’ आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको छ। चलचित्रको जापान, मध्यपूर्व, र मलेसियाका लागि वितरण अधिकार पहिले नै बिक्री भइसकेको छ।

चलचित्र ’होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक सशान कँडेलकै हो। चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दैछ। चलचित्रका डिओपी अर्जुन तिवारी हुन् भने सिनेमाटोग्राफर बुद्ध थापा र मनोज खत्री हुन्। मुख्य सहायक निर्देशक सुदिप कुँवर छन्। चलचित्रको प्रोडक्सन डिजाइन यम प्रसाद ओलीले गरेका छन्। कार्यकारी निर्माता शङ्कर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह–निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१