काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संसदको हिउदे अधिवेशन सञ्चालन हुनुभन्दा पहिला नीतिहरुलाई अन्तिम रुप दिने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३४ औँ वार्षिक साधारण सभा उदघाटन कार्यक्रममा उनले संस्कृती, पर्यटन र नागरिक उड्डयानसँग सम्बन्धित ऐनहरु संसदभित्र छलफलमा रहेको भन्दै अधिवेशन अगाडि ती ऐनहरुलाई अन्तिम रुप दिने बताएका हुन् ।
उनले भने, ‘संसदको अधिवेशन सञ्चालन हुनुभन्दा पहिला नै हामी नीतिहरुलाई अन्तिम रुप दिने काम सक्नेछौं । हिउदे अधिवेशनमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका अधिक्तम ऐनहरु र निर्देशिका बनाउने दिशामा अग्रसर छौं । ऐनहरु समयमै आएभने कानूनी राज्यलाई स्थापित गर्न सक्नेछौ । अहिले संसदभित्र मन्त्रालयसँग सम्बन्धित विभिन्न छलफलहरु हुने गरेका छन् । ती छलफल र प्रश्नको जवाफ दिने बचनबद्ध पनि गर्दछु ।’
यसको साथै उनले संस्कृती नीति, पर्यटन नीति र हवाइ नीतिमा सामूहिक परिवर्तन गर्न खोजिरहेको भन्दै यसबाट नेपालको आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन सकिने बताए ।उनले भने, ‘संस्कृती नीति, पर्यटन नीति र हवाइ नीतिमा सामूहिक परिवर्तन गर्न खोजिरहेका छौ । नेपाल एरलाइन्सलाई कसरी सुधार गर्ने र सुरक्षाको हिसाबले नेपालको आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउनुपर्ने हाम्रो दायित्व छ । नेपाल एरलाइन्सलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरामा गम्भीर छौं । नीजि क्षेत्रको भूमिका जति गतिशिल हुन्छ, त्यती नै यो मन्त्रालयले टेवा प्राप्त गर्छ ।’
उनले पर्वतारोहण संघको भूमिका नखुम्चाइ, थप सिर्जनशिल, गतिशिल र पर्वतारोहणमा अझ थप योगदान गर्ने संस्थाका रुपमा विकसित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।यस्तै, अहिले एकले अर्काको खुट्टा तान्ने होइन सहकार्यमा काम गर्ने समय आएको भन्दै काङ्ग्रेस–एमाले एक ठाँउमा आउनुको मूल मर्म पनि यही नै रहेको उनको भनाई छ ।उनले भने, ‘अहिले एकले अर्काको खुट्टा तान्ने समय होइन, सहकार्यमा काम गर्ने समय हो ।सबै मिलेर पहिला देश बचाउ, त्यसपछि मात्र राजनीति, व्यवसाय सबै बचाउन सकिन्छ । त्यसपछि बल्ल प्रतिस्पर्धा गर्न सक्छौ । काङ्ग्रेस–एमाले मूल प्रतिस्पर्धी एक ठाँउमा आउनुको मर्म सबै वर्गले बुझेर एकताको बाटोबाट ८४ सम्म नेपाललाई एउटा गति दिने काम गर्नुपर्छ ।’