• २०८३ साउन २
  • 2026 July 18, Saturday

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्र सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सञ्चार क्षेत्र सबै पुरानो कानूनले चलिरहेको भन्दै सबैभन्दा संवेदनशिल क्षेत्र भएर पनि राज्यको ध्यान नगएको बताएका हुन् ।उनले भने, ‘सञ्चार क्षेत्र जटिल छ, यो क्षेत्र आफैंमा संवेदनशिल छ । अहिलेसम्म यो क्षेत्रमा केही भएको छैन भन्ने हो भने यो अवस्थासम्म आइसकेका छौं । सबैजनाले काम गर्नु भएकै छ । तर सार रुपले भन्ने हो भने भएको केही पनि छैन । सबै पुरानो कानूनले चलिरहेका छन् ।

नयाँ नीति, कानून केही छैन । मुलुकमा गणतन्त्र आइसक्यो, तर कानूनमा केही पनि परिवर्तन छैन । यो सबैभन्दा संवेदनशिल क्षेत्र हो तर सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र पनि हो । अब यसको सुधार गर्नुपर्छ ।’यस्तै, उनले यो वर्ष हुलाकको राष्ट्रिय नीति बनाउने भन्दै हुलाकको विषयमा नीतिगत रुपमा फड्को मार्ने बताए ।

उनले भने, ‘यो वर्ष हुलाकको राष्ट्रिय नीति बनाउने, पहिला पनि थियो होला त्यसलाई सुधार गरेर नयाँ ल्याउने । नीति भएपछि मात्र त्यसको आधारमा कानून बन्छ । यो वर्षभित्र सबै नीतिका काम सकिन्छ । हुलाकको विषयमा नीतिगत रुपमा फड्को मार्ने काम गर्छौँ।’साथै, उनले नीतिगत, कानून, बजेट, जनशक्ति लगायको समस्या कहाँ छ भनेर सबै पहिल्याएर समाधान गर्नुपर्ने भन्दै यो वर्षभित्र सबै कुराको समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।