
काठमाडौ । मुगुमा रहेका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका पहिलो साक्षर घोषणा पालिका बनेको छ ।‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने मुल नाराका साथ राष्ट्रिय शिक्षा दिवसको अवसरमा छायाँनाथ रारा नगरलाई जिल्लामा स्थानीय तहको तथा पहिलो साक्षर नगरपालिकाको रुपमा घोषणा गरिएको हो ।
नगरपालिकामा रहेको कुल जनसंख्यामध्ये ९६ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने र केही सूचक पूरा भएपछि साक्षरता जिल्लाको पहिलो साक्षर पालिका घोषणा गरिएको नगर प्रमुख विष्णु कुमार भामले बताए ।नगर प्रमुख भामका अनुसार नगरपालिका भर रहेको १५ देखि ६० वर्ष उमेर समूहको कुल जनसंख्याको ९६ प्रतिशतले नेपाल सरकारले निर्धारण गरेका १२ वटा सूचकमध्ये ६ वटा सूचक नगरपालिकाले पूरा गरेपछि औपचारिक घोषणा गरिएको हो । सरकारले साक्षरता घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ ।
निर्धारण गरिएका राष्ट्र भाषा वा मातृ भाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाई लेखाई गर्न सक्ने, मोबाईल वा क्याल्कुलेटर चलाउन सक्ने, अंक चिन्न सक्ने वा ९ सम्मको अंक लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्ने सूचकमध्ये ६ वटा पूरा भए साक्षर घोषणा गर्न सकिनेछ । साक्षर नगरपालिका घोषणा गर्दै नगर प्रमुख भामले प्रविधिसँग खेल्न सक्ने जनशक्ति तयार गर्नु प्रमुख चुनौति रहेको समेत बताए ।