• २०८३ असार १३
  • 2026 June 27, Saturday

सरकार र निजी क्षेत्र मिलेर अघि बढ्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार उद्योगीको साथमा रहेको बताएका छन् । उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ बार्षिक साधारणसभामा बोल्दै उनले सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने बताएका हुन् ।

मन्त्री भण्डारीले नितीगत सुधारका लागि सरकारले निजी क्षेत्रको सुझाव लिएको बताए । उनले मन्त्रालय सुधार कार्ययोजना तय गर्ने बेला सबै क्षेत्रका व्यक्तिहरुसंग सुझाव लिएकोमा उक्त कार्ययोजना कार्यान्वयन गरिरहेको बताए ।उनले आर्थिक मन्दीका कारण व्यवसायीहरुलाई परेको आर्थिक संकटको समाधान गर्न सरकारका तर्फबाट आवश्यक प्रयास थाल्ने बताए । युवाहरुलाई उद्यमी बनाउन स्टार्टअप कार्यक्रम ल्याएको बताउँदै उनले वर्तमान चुनौतिहरुलाई सम्भावनामा बदल्न आग्रह गरे । युवाहरुले विदेशमा मात्रै सम्भावना देख्ने प्रवृत्ति सुखद नभएको उनको भनाई छ ।

मन्त्री भण्डारीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह मिलेर मात्रै देशको विकास सम्भव भएकाले जनतामा देखिएको निराशाको अन्त्य गर्न तिनै तहका सरकारको सहकार्य आवश्यक रहेको बताए ।जनतामा ‘सरकार मेरो हो’ भन्ने भावना जागृत हुनुपर्ने मन्त्री भण्डारीको भनाई छ । उनले भने, ‘सरकार एमालेको, कांगे्रको वा अन्य कुनै दलको हो भन्ने होइन्, सरकार मेरो हो, हाम्रो हो भन्ने भावनाको विकास हुनुपर्छ ।सरकारबाट जनताले आशा राख्न छाड्नु हुदैन् । बरु नितिगत कमजोरी छ भने त्यसमा बहस गरौँ नितिनियम सुधार गछौँ, कार्यक्रमहरु सच्याउछौँ र सरकारलाई बलियो र जनताले अपनत्व महशुस गर्ने बनाउछौँ ।’उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ बार्षिक साधारणसभा संखमुलमा आयोजना गरिएको हो ।