होस्टल ब्यवसायका लागि माछापुछ्रे बैंकले बिना धितो ५ लाखसम्म ऋण दिने

काठमाडौं–होस्टल व्यवसायी संघ नेपालमा आबद्ध होस्टल व्यवसायीहरुले बिनाधितो २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् ।

काठमाडौंको बानेश्वरमा रहेको इन्द्रेणी ब्यान्क्वेटमा भएको संघको तेस्रो वार्षिक साधारणसभाको अवसरमा माछापुछ्रे बैंक र संघबीच बिनाधितो २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म मर्चेन्ट लोन सम्झौता भएको हो । यस्तै साधारणसभाकै अवसरमा बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलले व्यवसायी, विद्यार्थी र कर्मचारीलाई सम्पूर्ण उपचारमा २० प्रतिशत छुट र नि:शुल्क एम्बुलेन्स सेवा दिनेगरी सम्झौता भएको छ भने होस्टल व्यवसायी संघ नेपालले आजैदेखि आफ्नो बेवसाइटसमेत सञ्चालनमा ल्याएको संघको बुद्धनगर क्षेत्रीय समिति संयोजक यज्ञराज नेपालले जानकारी दिए ।

संघको साधारणसभा प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यता एवं संघका केन्द्रीय अध्यक्ष सुनिल भेटवालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बज्राचार्यले होस्टल व्यवसाय व्यवस्थित र मर्यादित बनाउँदै हजारौंको सख्यामा रहेका विद्यार्थीहरुको उज्वल भविश्य बनाउन होस्टलहरु सदा तम्तयार रहनुस् भन्ने शुभकामना दिइन् । साथै लागुऔषध र साइबर क्राइम नियन्त्रण तथा ट्राफिक नियमबारे संघले सञ्चालन गर्ने कार्यक्रममा नेपाल प्रहरीले सदैव सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन् ।

महासचिव सुनिता बटाजुले सञ्चालन गरेको कार्यक्रममा संघका केन्द्रिय अध्यक्षले सुनिल भेटवालले सम्पुर्ण होस्टल व्यवसायीको हकहित र व्यवसायलाई मर्यादित बनाउन संघ सदैव लागिपर्ने बताएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१