• २०८३ साउन २
  • 2026 July 18, Saturday

जसपा नेपालले पदाधिकारीलाई अभियानमा खटायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको छ ।पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र निरिक्षण गर्नका लागि जिम्मेवारी तोकेको हो ।

जसअनुसार सुदूरपश्चिम प्रदेशमा गोविन्द चौधरी, कर्णाली प्रदेशमा उपमहासचिव दीपक कार्की, लुम्बिनी प्रदेशमा उपाध्यक्ष राजकिशोर यादव, गण्डकी प्रदेशमा उपाध्यक्ष शिबलाल थापा मगरलाई खटाइएको छ ।त्यसैगरी बागमती प्रदेशमा सचिव सुनी लामा, मधेस प्रदेशमा केन्द्रीय कार्यकारिणी सदस्य हरिनारायण यादव र कोसी प्रदेशमा सचिव राजकुमार राई र कार्यकारिणी सदस्य जयराम यादवलाई तोकिएको छ ।
पार्टीले खटाएका पदाधिकारी तथा कार्यकारिणी सदस्यले आ–आफ्नो प्रदेशमा रहेका केन्द्रीय कार्यकारिणी सदस्यहरुका साथै प्रदेश समितिहरु सँग समन्वय एवं सहकार्य गरी कार्य गर्न भनिएको छ ।

तोकिएका अभियन्ताले अभियानको प्रतिवेदनसमेत तयार पार्नुपर्ने छ ।जसपा नेपालले चार महिने अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत सोमबार पाँचथरमा अभियन्ता अभिमुखिकरणको आयोजना गर्न लागिएको छ ।जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।यस अघि जसपा नेपालले काठमाडौं, जनकपुर, वीरगञ्ज, बिराटनगर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढीमा अभियन्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।