• २०८३ असार १३
  • 2026 June 27, Saturday

विदेशी भूमिमा नेपालीहरुले प्रधानमन्त्रीप्रति देखाएको व्यवहारप्रति उप्रेतीको आपत्ति

काठमाडाैं । अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा न्यूयोर्कमा आयोजना गर्न लागिएको स्वागत तथा भेटघाट कार्यक्रम रद्द भएपछि नेपालमा त्यससम्बन्धी चर्चा भइरहेकाे छ।

सरकार, सत्तारुढ दल, विपक्षी दलहरु र बुद्धिजिविहरुकाबीचमा प्रधानमन्त्रीको निर्धारित कार्यक्रम सुरक्षाका कारण रद्द भएकोमा गम्भीर चर्चा भएको हो । सत्तारुढ दलसहित विपक्षी दल र बुद्धिजिविहरुले यो विषयमा आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

राप्रपा सह कोषाध्यक्ष शोभित उप्रेतीले देशका प्रधानमन्त्री विदेशी भूमिमा हुँदा विदेशी परिचय पत्रधारी र गैर कानुनी रुपमा विदेश बसेका नेपालीभाषीले देखाइएको व्यवहारप्रति निन्दा व्यक्त गरेका छन् । उनले यो व्यवहारको जति निन्दा गरेपनि कम नहुने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–‘यो देशको राजनीति हामी देशमा बसेकाहरुले गर्छौँ र समर्थन र विरोध पनि गर्छौँ । गैर नागरिक र अराजक हुललाई हाम्रो आन्तरिक मामलामा हस्ताक्षेप नगर्न अनुरोध छ । जहाँ जानुभएको छ त्यहीँ नै इमानदार साथ काम गर्दा नै तपाईहरुको इज्जत र सम्मान बढ्छ । वैरिको आक्रमणप्रति हामी नेपाली एक भएर सामना गर्ने हाम्रो परम्परा रहिआएको स्मरण गराउन चाहन्छु ।’

नेता उप्रेतीले यति सानो कुरा व्यवस्थापन गर्न नसक्ने नेपाली दूतावास के गरेर बस्छ भन्दै प्रश्न पनि उठाएका छन् ।

नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले समारोहस्थलमा सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्रीको नेपालीहरुसँगको भेटघाट कार्यक्रम स्थगन गरिएको जानकारी दिएको थियो ।