• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

भक्तपुरको प्रत्यारोपण केन्द्रमा २५ औं दिन पनि प्रदर्शन जारी

काठमाडौ । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले विरोध प्रदर्शनलाई २५ दिनदेखि निरन्तरता दिएका छन् ।२५ औं दिनका दिन विहीबार विहान पनि स्थानीय कालोब्यानरसहित प्रदर्शन गरेका छन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ ।

विहीबार आन्दोलनकारीहरुले कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलाई तत्काल बर्खास्त गरेर प्रत्यारोपण केन्द्रलाई बचाउन माग गरे ।विगत लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भएपनि सुनुवाइ नभएपछि आन्दोलनलाई निरन्तरता दिनुपरेको उनीहरुको भनाइ छ । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठलाई पदबाट बर्खास्त नगरे जनताले आफै बर्खास्त गर्ने चेतावनी समेत दिए ।आन्दोलनकारीले यसअघि नै अनियमितता, भ्रष्टाचार र मानव अंग तस्करीमा संलग्न भएको भन्दै डा.श्रेष्ठलाई कारवाही स्वरुप बर्खास्तको माग गरेका थिए ।

आन्दोलनकारीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरुलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतको व्यानर बोकेर प्रदर्शन गरेका हुन् ।केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, विहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने, अस्पताल भित्र हुने सबै प्रकार सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीहरुको रोकिएको तबल भत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।