• २०८३ साउन २
  • 2026 July 18, Saturday

‘आफ्नालाई संरक्षण गरेर सरकारले विपक्षीप्रति प्रतिशोध साँध्यो’

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार विपक्षी दलका नेताहरुलाई छानीछानी मुद्दा लगाउने र सत्तापक्षका नेता जोगाउने काममा लागिपरेको आरोप लगाएको छ ।

बिहीबार पार्टी केन्द्रीय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी उपाध्यक्ष अग्नि सापकोटाले सरकारले सहकारी प्रकरणमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेल लगायतकाहरुलाई संरक्षण गरेर विपक्षीप्रति प्रतिशोध साँधिरहेको बताएका हुन् ।उनले भने, ‘पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देशको कानूनभन्दा माथि कोही छैनन् भन्ने सन्देश दिएको थियो । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको थियो । अहिलेको सरकार त पछिल्लो समय विपक्षी दलका नेताहरुलाई छानि छानि मुद्दा लगाउने र आफ्नै नेताहरु जोगाउने काम गरिहरेको छ । म ति नामहरु भन्न पनि तयार छु ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेका ऋषिकेश पोखरेललगायतकाहरुलाई संरक्षण गरेर खुला रुपमा राखेको छ ।’त्यस्तै उनले सुशासन र भ्रष्टाचारका नाममा तत्कालिन सरकारले थालेको काम छोडेर ओली नेतृत्वको सरकार ठिक विपरित दिसामा गइरहेको उल्लेख गरे ।‘हामी पूरै दृढताका साथ के भन्न सक्छौं भने माओवादी नेतृत्वको सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाह र प्राकृतिक विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाका लागि दृढताका साथ लागि परेको थियो । अहिलेपनि देशव्यापी रुपमा हाम्रा कार्यकर्ताहरु चाँही जनताको खोज, उद्धार, राहत तथा पुर्नस्थापनामा समेत खटिरहनुभएको छ । पहिलेका सरकारले गरेका कामहरुको बारेमा धेरै लामो फेहरिस्त प्रस्तुत गर्न सकिन्छ । यति भन्दा पनि पुग्छ जस्तो लाग्छ ,’उनको भनाइ थियो ।