• २०८३ साउन २
  • 2026 July 18, Saturday

पोखरिया अस्पताल केही दिनमै प्रादेशिक बन्छ : मन्त्री गुप्ता

काठमाडौ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताल अब केही दिनभित्रै प्रादेशिक अस्पताल बन्ने बताएका छन् ।

आज आइतबार गोविन्दपुर हुँदै हास्वा जोड्ने सडक शिलान्यास गर्ने क्रममा उनले आउँदो मन्त्रिपरिषद बैठकबाट पोखरिया अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पतालमा परिणत गर्न लागिएको जानकारी दिएका हुन् ।पर्साको महत्वपूर्ण मुकामको रूपमा रहेको पोखरिया नगरपालिकाको विकासका लागि आफू हरपल तयार रहेको बताउँदै मन्त्री गुप्ताले पोखरियामा विभिन्न सरकारी निकायको शाखा कार्यालय सुचारु गराउन आफू लागेको पनि जानकारी दिए ।

पोखरिया नगरपालिकामा आएको विकासे बजेटमा सम्पूर्ण जनप्रतिनिधिलगायत विभिन्न दलका नेताहरुलाई एकजुट भई विकासको काम तीव्र रुपमा अगाडि बढाउन पनि मन्त्री गुप्ताले आग्रह गरे ।कार्यक्रममा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन् चौहान, उपप्रमुख रवि ठाकुरलगायत वडा अध्यक्षहरूको सहभागिता रहेको थियो ।