काठमाडौं । सिरहाको गोलबजार नगरपालिकामा हुँदै नभएका कर्मचारीको नाममा विगत ७ महिनामा ४० लाख रुपैयाँ तलव शीर्षकमा अनियमति रुपमा निकासा दिइएको रहस्य खुलेको छ ।हाल सरुवा भएर श्रम विभाग काठमाडौं पुगेका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको कार्यकालमा फर्जी कर्मचारी खडा गरी तलव निकासा दिइएको र करिव ४० लाख रकम अपचलन भएको नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले बताए । उनले भने–करिव २२ जना फर्जी कर्मचारी खडा गरी तलव खुवाइएको छ ।
सुत्रले जानकारी दिए अनुसार अधिकृत केसीका नातेदार धन बहादुर केसीको नाममा मासिक २२ हजारका दरले ७ महिना लगातार तलव पठाइएको छ । धन बहादुर दाङ्गमै बसेर गोलबजार नगरपालिकाबाट महिनैपिच्छे तलव बुझ्ने भाग्यमानी हुन् ।अधिकृत केसीका सानीआमाका कान्छा छोरा र बुहारी – गोलबजार नगरपालिका वडा नं. ७ का ) दुवै जनालाई काम नगरी गोप्य रुपमा ७ महिनासम्म तलव प्रदान गरिएको छ ।अधिकृत केसीले गोलबजार नगरपालिका वडा नं. ३ मुसहर्नियाका ३ जना युवाहरुलाई अघोषित रुपमा आफ्नो सुरक्षामा खटाएर गोप्य रुपमा तलव उपलब्ध गराएको सुत्रहरुको दावी छ ।त्यसैगरी नगर प्रमुख श्याम कुमार श्रेष्ठले आफ्ना स्वजातीय बन्धु वान्धव र एमालेका कार्यकर्ताहरु करिव ७ जना र शेषर यादव नाम गरेका अर्का एक कार्यकर्तालाई कामै नगरी तलव खुवाएका छन् ।
मेयरकै सिफारिसमा चुनावताका आफूलाई सहयोग गर्ने नेकपा माओवादी केन्द्रका नवीन लामालाई पनि कामै नगरी तलव दिइदै आएको छ । उप प्रमुख मान्ती साहका नातेदार अरुण साहलाई पनि कामै नगरी नियमित रुपमा तलव प्रदान गरिएको छ ।बिना नियुक्ती फर्जी कर्मचारीको रुपमा तलव खानेहरुमा सन्तोष राय पनि छन् । सुत्रले जानकारी दिए अनुसार यिनी अधिकृत केसीको प्रियपात्र थिए ।नगरपालिकामा कार्यरत इन्जिनियर जय किशोर साहले आफ्ना भाइ (काकाका छोरा) लाई विगत ७ महिनादेखि तलव खुवाएका छन् । जवकी उनले एक दिन पनि नगरपालिकामा काम गरेका छैनन् ।नगरपालिकामा कार्यरत लेखा प्रमुख गंगा मण्डलले पनि आफ्ना नातेदार रामकुमार शर्मालाई विगत एक वर्षदेखि कामै नगरी तलव निकासा दिलाएका छन् ।प्राप्त जानकारी अनुसार गोलबजारको एक निजी अस्पतालमा कार्यरत अनील कुमार ठाकुर र वडा नं. १२ बलकवाको उप स्वास्थ्य चौकीमा कार्यरत तेज नारायण यादवकी पत्नी मन्दिरा देवी यादवको नाममा गत अशोज २९ गते ४/४ महिनाको तलव निकासा दिइएको छ ।
मन्दिरा यादव गोलबजार स्थित जय गोविन्द साह पोली टेक्निकल इन्सिटिच्युटमा डि फर्मा अध्ययन गर्दै गरेकी छात्रा हुन् ।कार्यपालिका सदस्य फुलेस्वर नायक भन्छन् नगरपालिका भित्र मनमौजी छ । नियम कानूनको कुनै पर्वाह छैन ।कार्यपालिकाको निर्णय नै भएको छैन । दरवन्दी सिर्जना गरिएकै छैन । तर पनि नियम मिचेर करार र ज्यालादारीमा सम्झौता गराएर कामै नगरी दर्जनौ व्यक्तिहरुलाई तलव निकासा दिइन्छ । यो सरासर भ्रष्टाचार हो ।माओवादी केन्द्रका स्थानीय नेता रामचन्द्र सिंह भन्छन् मेयर आफैले आफ्ना आसेपासेलाई पाल्न गैर कानूनी रुपमा तलव खुवाएपछि हाकिम, इन्जिनियर , उप प्रमुख र लेखाले किन छाड्थे र ! सबैले तलव खाने सूचीमा आ–आफ्नालाई घुसाएका छन् । घोर अनर्थ र सरासर अपचलन गरिएको छ ।जनमत पार्टीका स्थानीय नेता रामप्रगेस महतो भन्छन् आउँदो बुधवार हामी नगरपालिकामा जाँदैछौं । कथित कर्मचारी खडा गरी तलव खुवाएको देखिए नगरपालिकामा तालावन्दी गर्छौ र दोषीहरुलाई निलम्वन गरेर कारवाही प्रकृया आरम्भ नगरेसम्म कार्यालय सञ्चालन हुन दिंदैनौ ।