काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो मंसिर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग–एनपीएलमा सहभागी हुने फ्रेन्चाइज टोलीलाई निगरानी गर्न २४ घण्टै सेक्युरिटी अफिसर खटाउने भएको छ ।
सोमबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै क्यानका सचिव पारस खड्काले ८ वटै फ्रेन्चाइजसँग एक एक जना सेक्युरिटी लायजन अफिसर खटिने जानकारी दिए ।‘क्यानकै एन्टी करप्सन युनिट पनि छ । हामीले नेपाल प्रहरीका आईजिपीसँग कुराकानी गरेर हरेक फ्रेन्चाइजसँग २४ घण्टै सेक्युरिटी लायजन अफिसर रहने व्यवस्था गरेका छौं । यसले फ्रेन्चाइजहरुले अन्यथा गर्ने छैनन्,’ खडकाले भने ।
त्यसका लागि नेपाल प्रहरीले क्रिकेट बुझेका अधिकृतहरु खटाउने गरि सल्लाह भएको पनि उनको भनाइ छ ।गत वर्ष आयोजन भएको नेपाल टी–२० फिक्सिङ विवादमा परेको थियो । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा रहेको बताएका छन् ।प्रतियोगिताबारे सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्यानका सचिव खड्काले एनपीएलको पहिलो संस्करण अन्तराष्ट्रियस्तरको गरेर सबैको ध्यान तान्न चाहेको बताए ।